इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौं : मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ ।

दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट इजरायली सेनाले उक्त तथ्यांक सार्वजनिक गरेको हो । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीका अनुसार इरानले हालसम्म ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।
‘हामीसँग उच्च अवरोध क्षमता छ । करिब ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्र आकाशमै निष्क्रिय पारिएका छन्,’ उनले पत्रकार सम्मेलनमा भने । शनिबार आक्रमण भएका शहरमध्ये डिमोना पनि एक हो, जहाँ इजरायलको अघोषित परमाणु शस्त्रागार रहेको विश्वास गरिन्छ । उक्त आक्रमणको प्रभाव आणविक केन्द्रबाट करिब पाँच किलोमिटर दूरीमा परेको जनाइएको छ ।
नजिकैको अर्को शहर अरादमा भने धेरै भवनमा क्षति पुगेको छ । शोशानीका अनुसार शनिबार प्रहार गरिएका केही क्षेप्यास्त्रहरू पहिले प्रयोग भएका ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा फरक प्रकृतिका थिए, र यस्ता चारवटा मात्र प्रयोग गरिएको छ ।
इजरायली सेनाले केही आक्रमण रोक्न नसकिएको घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । ‘हामीले अधिकांश आक्रमणलाई आकाशमै विफल बनाएका छौँ र भविष्यमा पनि यही दर कायम राख्नेछौँ,’ शोशानीले भने ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबारको घटनालाई ‘निकै कठिन साँझ’ भन्दै नागरिकलाई साइरन बज्नेबित्तिकै सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । आइतबार अरादको भ्रमणका क्रममा उनले इरानी नेतृत्वविरुद्ध कारबाही जारी रहने चेतावनी दिएका छन् ।
‘हामी इरानको रिभोलुसनरी गार्ड्सजस्तो आपराधिक संरचनामाथि कारबाही गरिरहेका छौँ,’ उनले भने, “’हामी उनीहरूको नेतृत्व, संरचना र आर्थिक स्रोतलाई लक्षित गरिरहेका छौँ ।’ यसैबीच, आइतबार तेल अभिभको व्यापारिक क्षेत्रमा भएको अर्को आक्रमणमा एक जना घाइते भएका छन् ।

