अब धरहरा परिसरमा निःशुल्क पार्किङ सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिका ले धरहरा परिसरमा निर्माण गरिएको सवारी पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका अनुसार हाल उक्त पार्किङ सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको छ।

मन्त्रिपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयअनुसार पार्किङ व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई दिइएको हो। पार्किङ क्षेत्रको व्यवस्थापन महानगर प्रहरी बलले सम्हालिरहेको छ।

धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ। बी–१ मा १२७ वटा चारपाङ्ग्रे सवारी, बी–२ मा करिब ७ सय मोटरसाइकल र बी–३ मा १३५ वटा चारपाङ्ग्रे सवारी पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ।

पार्किङ क्षेत्रमा सवारी सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने तीन तलामा ३० वटा अग्नि सुरक्षा उपकरण राखिएको छ।

पार्किङ सेवा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ। त्यसपछि नयाँ सवारी पार्किङ गर्न नपाइने तर पार्किङमा राखिएका सवारी निकाल्न भने अनुमति दिइने व्यवस्था गरिएको छ।