संयुक्त विद्यार्थी संगठनद्वारा फागुन २१ संसदीय निर्वाचन बहिष्कारको अपिल
काठमाडौँ । नेपालका चार क्रान्तिकारी विद्यार्थी संगठनले फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेका छन् । उनीहरूले शैक्षिक क्षेत्रको सुधार, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता मुद्दामा निरन्तर संघर्ष गरिरहेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष हिमांशु, अखिल (क्रान्तिकारी) का महेश श्रेष्ठ, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन् कि आगामी निर्वाचन देशलाई अग्रगमनको दिशामा डो¥र्याउन असमर्थ छ र यसले विगतका भ्रष्ट तथा ठग नेताहरूको संसदीय वैधता मात्र नवीकरण गर्नेछ । साथै, फरक मत राख्ने वा निर्वाचन बहिष्कार गर्ने नेताकार्यकर्तामाथि राज्यले दमन र गिरफ्तारी गर्ने नीति अपनाएको भन्दै यसलाई मानव अधिकारको उल्लंघन र अभिव्यक्ति स्वतन्त्रताको बन्देजको रूपमा व्याख्या गरिएको छ ।
अहिलेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र उनीहरूका सम्बद्ध विद्यार्थी संगठनका नेताहरू पक्राउ परेका छन् । यसमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपाका अध्यक्ष ऋषि कट्टेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सोमानसिंह तामाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नरेन्द्र बहादुर रिजाल तथा अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता बासुदेव बुढा र नरेन्द्र विक सामेल छन् ।
विद्यार्थी संगठनहरूले सरकारले अपहरण, धरपकड र गिरफ्तारीमार्फत हिंसात्मक चरित्र देखाएको आरोप लगाउँदै यथाशीघ्र रिहाईको माग गरेका छन् । साथै, आम नागरिक, मानव अधिकारवादी संघसंस्था तथा बुद्धिजीवीहरूलाई राज्यको दमन र हिंसात्मक प्रवृत्तिविरुद्ध सक्रिय हुन पनि अपिल गरिएको छ ।
यस्तो छ वक्तव्य :


