निर्वाचन आसपास एक हप्ता बिदा
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि मतदाताको सहभागिता बढाउने उद्देश्यसहित सो अवधिमा सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न र मतदाता अनुकूल वातावरण सिर्जना गर्न उक्त अवधि बिदा आवश्यक हुने निष्कर्षसहित प्रस्ताव पठाइएको हो ।
सरकारको निर्णयसँगै सार्वजनिक बिदासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनेछ । आयोगको सिफारिसअनुसार निर्णय भएपछि निर्वाचन अवधिमा लामो बिदा हुने अवस्था बनेको छ ।
यस वर्ष फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली परेको छ। त्यसैगरी २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि परेको छ ।
यसरी हेर्दा निर्वाचन आसपासको समय एक हप्ता बिदा हुने भएको छ ।

