प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अखिल (क्रान्तिकारी) अध्यक्ष विरेन्द्र शाहको कडा खण्डन
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार गर्ने दलहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको कडा खण्डन गर्दै, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘चुनावमा सहभागी वा बहिष्कार गर्ने निर्णय स्वयं जनताको संवैधानिक अधिकार हो । यसमा हस्तक्षेप गर्नु वा आरोप लगाउनु अवैधानिक र मानवअधिकार विपरीत छ ।’
उनले प्रधानमन्त्रीलाई सम्झाउँदै भनेका छन् कि सर्वोच्च अदालतले ‘नो भोट’ अधिकार सुनिश्चित गरेको आदेश कार्यान्वयन गर्नु सरकारको दायित्व हो । तर, जनतालाई वैधानिक बहिष्कारबाट वञ्चित गर्नु स्वास्थ्यपूर्ण लोकतान्त्रिक अभ्यास विपरीत हो ।
अध्यक्ष शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दलाल संसदीय व्यवस्थाप्रति उक्साउने शैली भएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले थपे, ‘हामी देश बदल्ने सपना बाहेक पद वा निजी लाभका लागि लडिरहेका छैनौं। भ्रष्ट र लुटेरा व्यवस्थाविरुद्ध हाम्रो संघर्ष जारी रहनेछ ।’
प्रधानमन्त्री कार्कीले आज एउटा कार्यक्रममा बहिष्कार गर्ने दललाई लक्षित गर्दै चुनावमा प्रभावकारी नभएका, जनता संग नभिजेका र पैसा संकलनको उद्देश्य राख्ने दल भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी छन् ।
यस्तो छ अध्यक्ष शाहको प्रतिक्रियाको पुर्ण पाठ :-
जनताको रगत चुस्ने दलाल संसदीय पुँजीवादी व्यवस्था कि
प्रधानमन्त्री सुशीला कार्की ज्यू,
तपाईंले चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने दललाई नानाथरी तथा तथाकथित आरोप लगाउनु आफ्नो हैसियत बिर्सिने कुरा हो। सर्वोच्च अदालतले नै “नो भोट” को अधिकार सुनिश्चित गर्न आदेश दिएको कुरा कार्यान्वयन गरेर जनतालाई चुनाव बहिष्कारको वैधानिक बाटो किन बन्द गरिएको? सर्वोच्चको प्रधान न्यायाधीश भएको होइन र, कि बिर्सिनुभयो? निर्वाचनमा सहभागी बन्ने वा बहिष्कार गर्ने स्वयं जनताको अधिकारको कुरा तपाइँले बोलेकोकुरा पनि मानव अधिकार र वैयक्तिक स्वतन्त्रताका बर्खिलापमा छ । अहिले बोलेकै भरर्मा गिरफ्तार गर्ने , झुठो मुद्दा लगाउने र थुन्ने कुन कानुनले दिएको छ ?
अरूलाई आरोप लगाउँदा तपाईंलाई पनि आरोप लगाउन मिल्छ कि? देश जलाउने आन्दोलनको नेतृत्वकर्ता (आन्दोलनको दिन बिहानै बानेश्वरमा गएर आन्दोलन भड्काउन भूमिका खेल्ने) तपाईं पनि होइन र? प्रधानमन्त्री बन्ने हल्ला चल्दा भारतीय मिडियाको एउटा अन्तर्वार्तामा तल्लो स्तरबाट भिख मागेजस्तो शैलीमा मोदीजीलाई १० औँला जोडेर नमस्कार टक्र्याएर सुनाइदिनु भन्ने तपाईं नै होइन र? मन्त्रिमण्डल चयन गर्दा कस्ता पात्र र कुन संस्थासँग जोडिएका मान्छे बनाउनुभयो? देशको स्वाधीनतामा खेलबाड गर्ने विदेशीको कठपुतली सरकारको नेतृत्वकर्ता तपाईं होइन र ?
यही दलाल संसदीय व्यवस्था भित्रकै संविधान र कानुनको कुरा गर्ने हो भनेपनि एमाले, कांग्रेस र तत्कालीन संसदीय माओवादीभन्दा बढी कुशासनलाई बढावा दिने अवैधानिक सरकारको प्रधानमन्त्री होइन र तपाईं ? प्रधानमन्त्री भएपछि सिंहदरबार र अदालत जलाउने नेपाली नागरिक हुन सक्दैन भन्ने, अनि अस्पतालमा घाइते भेट्न जाँदा “यस्तो हट्टकट्टा मान्छे बाङ्ग्रा फुस्किने गरी दिनुपर्छ” (प्रहरीलाई हान्नुपर्छ भनेको) भन्ने तपाईं होइन र? प्रमाण दिनुपर्छ हामीले? अहिले सिंहदरबारदेखि प्रहरी चौकी जलाउन उक्साउनेहरू कति जना उम्मेदवार बनेका छन्—केही हिसाब छ तपाईंसँग? अनि बोल्न पाए भनेर चुनावमा सहभागी नहुने वा बहिष्कार गर्ने दललाई मान्छे नभएका, अस्तित्वमा नभएका भन्नु तपाईंको अज्ञानताको विषय हो। तपाईंका श्रीमान/जिवनसाथी दुर्गा सुवेदी लगायतले ३० सालमा हवाईजहाज अपहरण गरेर ३० लाख लुट्दा पनि तत्काल सत्ताले आतंककारीको उपमा नै दिएको थियो । हिजो राजा-राणाहरुका विरुद्ध लडिरहदा पनि सामन्ती शासकले यहि भाषा बोल्थे ठ्याक्कै त्यहि फोटोकपी आईरहेको छ तपाईंको पनि । सामन्ती चरित्र नै झल्काउनै पर्ने के बाध्यता आईलाग्यो तपाईलाई ?
चुनाव लड्न छुट्टै राजनीतिक दल चाहिँदैन, किनकि यो दलाल, भ्रष्ट, गुण्डा, कमिशनखोर, जातीय तथा लैङ्गिक उत्पीडक र सहकारी ठगहरूको व्यवस्थामा कम्युनिस्ट खोलभित्रै पनि चुनाव लड्न पर्दा दुई ठुला संसदिय कम्युनिस्ट पार्टीहरु यो व्यवस्थामा छ्न । चुनाव लडेर हामीसङ्गै काम गरेका हाम्रा थुप्रै साथीहरू वडा अध्यक्षदेखि मन्त्रीसम्म बनिसकेका छन्। राजनीति अस्तित्वका लागि छुट्टै दल खोलेर चुनाव बहिष्कार गर्नुपर्दैन। हाम्रो असहमति यो लुटेरा र भ्रष्ट व्यवस्थासँग छ। त्यही भएर यो भ्रष्ट व्यवस्थाका विरुद्ध टाउकोमा कफन बाधेर लडिरहेका छौ । रहरले होइन नत्र तपाईंको छोराछोरी, आफन्त कुनदेशमा रमाईरहेका छ्न हामीपनी सजिलै युरोप , अमेरिका गएर रमाउन सक्छौं । देश बदल्ने सपना बाहेक हामीसङ्ग अरुकुनै तपाईंजस्तै पदमा पुग्न विदेशी मालिकलाई ढोग्ने रहर र सपना छैन ।
लाल सलाम !
दलाल संसदिय निर्वाचन सशक्त बहिष्कार गरौं !!

