हावाहुरीको भरमा आएको लहरले देशको जटिल राजनीतिमा निकास दिन सक्दैन : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूलाई‘क्षणिक हावाहुरी’को संज्ञा दिँदै ती दलहरूको आयु छिट्टै सक्ने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरूसँग मुलुक हाँक्ने ठोस सिद्धान्त र सांगठनिक आधार नभएको दाबी गरे ।
निर्वाचनको संघारमा नयाँ दलहरूले पाएको आकर्षणलाई सामान्य मौसमी प्रभावको रूपमा टिप्पणी गर्दै उनले भने, ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो । आवेगको भरमा आएको लहरले मुलुकको जटिल राजनीतिलाई निकास दिन सक्दैन ।’
प्रचण्डले नयाँ दलहरूले बाँडेको सपनालाई ‘भ्रमको खेती’ भनेका छन् र जनतालाई पुनः आफ्नो पार्टीको एजेन्डा र संगठनमा फर्किएको स्मरण गराए । साथै, इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका शक्तिहरूले निर्वाचन बिथोल्न चलखेल गरेको आरोप पनि उनले लगाए।
उहाँले देशमा दुई प्रकारका प्रवृत्ति सक्रिय रहेको बताए – एकातर्फ शान्तिपूर्ण आन्दोलन गर्नेहरूलाई निशाना बनाउने, र अर्कातर्फ विध्वंसकारी गतिविधि गर्ने शक्ति । यी प्रवृत्तिविरुद्ध आफ्नो पार्टी खडा रहेको प्रचण्डको भनाइ थियो ।
आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले कार्यकर्ताहरूलाई अबको १२ दिन ‘युद्धस्तर’को तयारीका रूपमा लिने निर्देशन दिए । उनले भने, ‘हामी अबको १२ दिन युद्धस्तरमा खट्ने हो भने देशको नम्बर एक पार्टी बन्न र नयाँ परिस्थिति निर्माण गर्न सफल हुनेछौँ ।’

