नेपाल बन्दकै दिन कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग ठप्प

झापा, फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आव्हान गरेको नेपाल बन्दकै दिन झापाको शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित कन्काई पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त पुलमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मीले सतर्कता अपनाउँदै आवागमन पूर्ण रूपमा रोकिएको छ । घटनापछि सो क्षेत्रमा सवारी साधनहरू रोकिँदा यात्रुहरू अलपत्र परेका छन् भने लामो दूरीका गाडीहरू राजमार्गमै थन्किएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार शंकास्पद वस्तु कागजले बेरिएको अवस्थामा पुलको बीच भागमा राखिएको थियो । बाहिरी भागमा ‘नेपाल बन्द होशियार’ भन्ने नारा लेखिएको देखिएको छ।

सुरक्षा निकायले घटनास्थललाई नियन्त्रणमा लिएर वस्तुको प्रकृति बारे अनुसन्धान गरिरहेको जनाएको छ । बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राखिएको बताइएको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय स्वाधीनता, स्वाधीन संयुक्त सरकार र जनसंविधानको मागसहित फागुन ५ गते नेपाल बन्दको पूर्वघोषित कार्यक्रम आयोजना गरेको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।