नेपाल बन्दका कारण देशभरका विद्यालय बन्द

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज विद्यालय बन्द रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आह्वान गरेको नेपाल बन्दका कारण विद्यालयहरू बन्द भएका हुन्।

अधिकांश विद्यालयले सोमबार साँझ नै विद्यार्थी तथा अभिभावकलाई मंगलबार विद्यालय बन्द रहने सूचना दिएका थिए।

पार्टीले फागुन २१ गते हुने निर्वाचन स्थगित गर्न माग गर्दै बन्दको आह्वान गरेको जनाएको छ। साथै, सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न आग्रह गरेको छ।

पार्टीका मागहरूमा स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क गर्नुपर्ने लगायतका विषय समावेश छन्।

त्यसैगरी, भ्रष्टाचार, महँगी र कालोबजारीको अन्त्य, उद्योग–धन्दा तथा कलकारखाना स्थापना, देशलाई आत्मनिर्भर बनाउँदै रोजगारी सुनिश्चित गर्नुपर्ने, ०४६ सालयता राज्य सञ्चालन गरेका नेता तथा उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुकुम्बासी तथा भूमिहीन किसानलाई जमिनको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।

बैंक तथा वित्तीय संस्था र मिटरव्याजीबाट हडपिएको सम्पत्ति फिर्ता, कृषिमा आधुनिकीकरण तथा औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको विकास, साथै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का मुख्य उद्देश्य पूरा गर्न बन्द आह्वान गरिएको पार्टीले स्पष्ट पारेको छ।