नेकपा (बहुमत) द्धारा भोलि फागुन ५ गते नेपाल बन्दको आव्हान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि फागुन ५ गते नेपाल बन्दको आवह्नान गरेको छ । राष्ट्रिय स्वाधीनता, स्वाधीन संयुक्त सरकार र जनसंविधानको लागि फागुन ५ गते नेपाल बन्द आयोजना गर्ने घोषणा गरेको पार्टीले जनाएको छ । भोलिको नेपाल बन्द कार्यक्रम पुर्व घोषित कार्यक्रम हो ।

उक्त पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले माघ २० गते एक प्रेस वक्तव्य मार्फत यस बन्दको घोषणा गरेका थिए ।
यही फागुन २१ को निर्वाचन साम्राज्यवादी डिजाइन अन्तर्गत हुन गइरहेको भन्दै त्यसको खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपविरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र देशभक्त क्रान्तिकारी र राष्ट्रबादीहरु सहितको स्वाधीन संयुक्त सरकारको स्थापनाको बाटोमा अघि बढ्नको लागि दवाव शिर्जना गर्न नेपाल बन्दको आव्हान गरिएको उक्त पार्टीले जनाएको छ ।
नेकपा (बहुमत) ले नेपाल बन्द कार्यक्रमलाई अभूतपूर्व र ऐतिहासिक बनाउनका लागि सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायात व्यवसायी, व्यापारी, विद्यालय, कलेज, बुद्धिजीवी र संचार जगतलाई सहयोग र समर्थन गर्न अनुरोध गरेको छ ।
साथै नेकपा (बहुमत) सहितको मोर्चा, जसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी आवद्ध संयुक्त संघर्ष समितिले समेतको सहभागीतामा चुनाव बहिष्कार तथा खारेजी सम्बन्धिका कार्यक्रमहरु गरिरहेको छ ।
त्यस्तै दुर्गा प्रसाईले हिजो आइतबार एक प्रेस वक्तव्य जारी गर्दै आफु सङ्ग सरकारले गरेको १२ बुदे सहमति फाल्गुन ७ गते सम्ममा हु-बहु कार्यन्वयन गर्नु पर्ने नगरे फाल्गुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालिन नेपाल बन्द र आम हड्ताल गरिने घोषणा गरेका छन् ।
साथै उनले देश र नागरिक बचाउन हाम्रो पहिलो कर्तव्य भएको र फागुन २१ गते हुने निर्वाचन राष्ट्रघाति भएको भन्दै त्यसमा सहभागी नहुन सम्पुर्ण राष्ट्रवादि, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्धप्रतिष्ठित व्याक्तित्वहरु, मजदुर किसान, पत्रकारहरु र आम नागरिकहरुमा अपिल गरेका छन् ।
उनले आफ्नो आन्दोलनको क्रममा सवारी–साधन, शैक्षिक संस्था, प्रतिष्ठान, उद्योग, बजार–व्यापार सबै बन्द रहने घोषणा समेत गरेका छन् ।
पछिल्लो समय, फागुन २१ को निर्वाचन विरोधी शक्तिहरू शसक्त हुँदै गएका कारण तोकिएकै समयमा निर्वाचन हुने विषयमा शंका उत्पन्न भएको छ ।

