कर्णालीबाट गीता खड्कालाई इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्ड

काठमाडौं, समृद्धि कृषि तथा पशुपंक्षी फर्मकी सञ्चालक गीता कुमारी खड्का (बुढा) इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्डबाट सम्मानित भएकी छन् । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा फागुन १ गते भएको छैटौं न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२६ अन्तर्गत खड्का उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।

प्लस टु पास गरेकी खड्काले सञ्चालन गरेको फर्ममा हाल ६ जनाले रोजगारी पाइरहेका छन् । ९ जनामध्ये २ जना दक्ष र ४ अर्धदक्ष कामदार रहेको जानकारी सञ्चालक खड्काले दिएकी छन् ।

२०७८ असोज ५ गते दर्ता भएको यस कम्पनीमार्फत आफू स्वरोजगार भई अरुलाई पनि रोजगारी दिन सफल भएकोमा खड्का खुसी व्यक्त गर्छिन् । उनको फर्मबाट मोरिङ्गा पाउडर, कालो बेसार र मोरिङ्गा कोशा उत्पादन तथा विक्री वितरण हुने गरेको छ । मोरिङ्गा पाउडर र कालो बेसार वीरगन्ज, सुर्खेत, दैलेख, जाजरकोट, नेपालगञ्ज र काठमाडौंमा विक्री वितरण हुँदै आएको र मोरिङ्गा कोशा कर्णाली प्रदेशभरी र नेपालगञ्ज, काठमाडौं र वीरगन्जमा विक्री हुने गरेको सञ्चालक खड्काले जानकारी दिइन् ।

आर्थिक वर्ष ०७९/८० र ०८०/८१ मा ३ लाख रुपैयाँ खुद नाफामा रहेको आफ्नो कम्पनी गत आर्थिक वर्ष ०८१/८२ मा भने २ लाख रुपैयाँ खुद नाफामा रहेको खड्काको भनाइ छ ।

गत वर्ष विक्री आम्दानी अघिल्ला वर्षको तुलनामा घटेकाले खुद नाफा कम भएको उनले बताइन् । उनका अनुसार गत वर्ष १९ लाख ५० हजार विक्री आम्दानी भएको थियो । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा भने २९ लाख रुपैयाँ विक्री आम्दानी भएको उनको भनाइ छ ।