देशमा आगो लगाउनेहरू हार्नेछन् : प्रचण्ड
काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् ।

शनिबार फागुन २ गते रुकुम पूर्वको चुनबाङमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणामलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै भने, ‘सिंहदरबार, संसद् भवन जले । सर्वोच्च अदालत जल्यो । निजी सम्पत्ति जले, व्यक्तिका घर जले । अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन् । गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन् ।’
प्रचण्डले बंगलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याउँदै भने,’बंगलादेशमा पनि आगो लगाइयो । चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे । नजलाउने र स्थिरता चाहनेहरू जिते । सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए । यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन् ।’
उनले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको उल्लेख गर्दै थपे, ‘तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन् ।’
रुकुम पूर्वलाई विकासको नयाँ ‘मोडेल’का रूपमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले भने, ‘भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ । अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ ।’
यसपालि प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन् ।

