रवीन्द्रलाई अर्को झट्का, विश्वासिला सारथीले छोडे पार्टी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका सारथीले एकपछि अर्को गरी पार्टी परित्याग गरिरहेकाछन ।

रवीन्द्रसँगै विवेकशील साझाबाट राप्रपामा आएका केन्द्रीय सदस्य चोकराज घिमिरेले राजीनामा दिएको हप्ता दिन नबित्दै अर्का नेता सुरेन्द्रबहादुर शाहले पनि पार्टी परित्याग गरेकाछन ।
सामाजिक सञ्जालबाट आफनो राजीनामाबारे जानकारी गराउँदै उनले राप्रपाको सबै पद÷सदस्यताबाट आफू अलग भएको घोषणा गरेकाछन । उनले गएको साढे तीन बर्ष सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताप्रति कृतज्ञता ज्ञापन गरेकाछन ।
राप्रपामा देशभरी हजारौं इमान्दार नेता तथा कार्यकर्ता रहेको जनाउँदै उनले नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेको अनुभूति भएको उल्लेख गरेकाछन । आफना लागि सबै भन्दामाथि देश र जनता रहेको बताउँदै उनले राष्ट्रको अगाडी राजनीतिक दल गौण रहेको प्रष्ट पारेकाछन ।
राप्रपामा मिश्रको उम्मेदवारीलाई लिएर विवाद चर्किएको छ ।

