परिवार संवादले बदलिएकाहरुको कथा !

शुभकालिका गाउँपालिका वडा नं ३, भौसिन टोलकी ३५ वर्षीया कमला अधिकारी पारिवारिक संवाद कार्यक्रममार्फत घर र समुदायमा सकारात्मक परिवर्तनको उदाहरण बनेकी छन् । श्रीमान्, सासु–ससुरा र दुई सन्तान सहित बसोबास गर्ने कमलाको परिवारमा यसअघि परम्परागत सामाजिक मुल्य मान्यताका आधारमा चल्दै र चलाउदै आएको थियो । महिनावारीको समयमा महिलाहरूलाई भैसिको दूध, दही खान निषेध गरिन्थ्यो र छाउपडी गोठमा बस्न बाध्य बनाइन्थ्यो। दलित समुदायप्रति विभेदपूर्ण व्यवहार सामान्य जस्तै मानिन्थ्यो। यी अभ्यासहरू गलत हुन् भन्ने अनुभूति हुँदाहुँदै पनि कमलासँग आवाज उठाउने आत्मविश्वास र सुरक्षित वातावरण थिएन।

युरोपेली संघ र संयुक्त राष्ट्रसंघको सहयोग, शुभकालिका गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्वारा संचालित सशक्त महिला समृद्द नेपाल कार्यक्रम अन्तर्गत संचालन गरिएको पारिवार संवाद कार्यक्रममा सहभागि हुने अवसरले कमलाको सोच र व्यवहारमा क्रमिक तर दिगो परिवर्तन आयो। परिवार संवादका सत्रहरूले परिवार भित्र र समुदायमा लैंगिक मैत्री व्यवहार, सकारात्मक लैंगिक भूमिका, अहिंसात्मक व्यवहार सम्बन्धिका विषयमा ज्ञान र व्यवहारिक सीप प्रदान गर्न सहयोग पुराएको छ ।सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको—परिवारका सदस्यबीच खुलेर संवाद सुरु हुनु हो।कमलाले परिवर्तनको सुरुवात आफु र घरबाट गरिन्। हाल उनको परिवारमा महिनावारीको समयमा महिलाहरूलाई कुनैपनि किसिमका खाना खान र सुरक्षित रुपमा घरकै कोठामा बस्नबाट बन्देज छैन । साथै, दलित समुदायका सदस्यहरूप्रति समान र सम्मानजनक व्यवहारको सुरुवात गरिएको छ। यसले परिवारभित्र सकारात्मक, सुरक्षित र सहयोगी वातावरण निर्माण गरेको छ।

यस परिवर्तनले पारिवारिक भूमिकामा समेत सुधार ल्याएको छ। पहिले महिला केन्द्रित घरायसी कामको जिम्मेवारी अब साझा बनेको छ। श्रीमान् र परिवारका अन्य सदस्यहरुले दैनिक काममा सहयोग गर्न थालेका छन्। कुनै समस्या वा असहमति उत्पन्न हुँदा शान्तिपूर्ण संवादमार्फत समाधान खोज्ने तथा पारिवारिक निर्णयहरु समुहयिक रुपमा गर्ने अभ्यासको विकास भएको छ, जसले परिवारभित्र दीर्घकालीन शान्ति र समझदारी कायम गरेको छ।
कार्यक्रमको प्रभाव घरभित्र मात्र सीमित रहेन। कमला समुदायस्तरमा पनि सक्रिय भूमिकामा उभिएकी छन्। साना विवाद वा तनावका अवस्थामा उनी संवाद र सहकार्यको माध्यमबाट शान्तिपूर्ण समाधानतर्फ प्रेरित गर्छिन्।

यसले समुदायका अन्य परिवारहरूमा समेत सोच र व्यवहार परिवर्तनको संकेत देखिन थालेको छ। कमला हाल आमा समुहको अध्यक्ष पदको जिम्मेवारीमा रहेर आफ्नो समुदायका मान्छे लाई लैंगिक समानता र लैंगिक भुमिकाका बारेमा छलफल गर्ने दाउरा घाँस ,मेलापात ,पानी पँधेरामा पनि सामाजिक सचेतनाका कुरा गर्ने गरेकि छन । उनी आमा समुहका विभिन्न कार्यक्रममा सक्रिय रुपमा परिचालन हुन्छिन भने समुदाय स्तरका हरेक कार्यक्रममा आफ्नो सहभागीता लाई सक्रिय बनाउदै पनि आएकी छन ।

आज कमला आफूलाई पहिले भन्दा धेरै आत्मविश्वासी र सक्षम महसुस गर्छिन्। पारिवार संवाद कार्यक्रमले महिलाहरुको पनि क्षमता तथा नेतृत्व विकास, दिगो व्यवहार परिवर्तन र समुदाय स्तरमा शान्ति प्रवर्द्धन सम्भव हुने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ। यो परिवर्तन सहयोगी निकायहरु, गाउँपालिकाको सहयोगले सम्भव भएको हो, जसले परिवारलाई परिवर्तनको केन्द्र बनाउँदै समुदायमा दीर्घकालीन सामाजिक रूपान्तरणको आधार निर्माण गरिको छ। सोसेक नेपालले शुभकालिका गाउँपालिकामा मात्रै ६० घरपरिवारका २४० जना सदस्य लाई परिवार संवाद कार्यक्रम सहभागी गराएको छ । कार्यक्रमबाट उपलब्ध जिविकोपार्जन सहयोगबाट ६० घरपरिवारले बाख्रा पालन, कुखुरा पालन ,खुद्रा व्यापार जस्ता व्यवसाय समेत संचालन गर्दै आएका छन ।

महिला, पुरुष, किशोरी र किशोरबीच सुरक्षित, सम्मानजनक र समान सम्बन्ध निर्माणतर्फ कमलाको यात्रा सशक्त महिला समृद्द नेपाल कार्यक्रमले ल्याएको दिगो प्रभावको जीवन्त उदाहरण हो। कमलाको परिवार जस्तै कर्णाली, मधेश र सुदुरपश्चिम प्रदेशका हजारौं परिवारहरु सशक्त महिला सम्बृद्द नेपाल कार्यक्रममा सहभागी भई लैंगिक रुपान्तरण तर्फ अग्रसर रहेका छन ।