प्रथम उपत्यका स्तरीय अन्तर विद्यालय शहीद स्मृति फुटसल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । प्रथम उपत्यका स्तरीय अन्तर विद्यालय शहीद स्मृति फुटसल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रगतिशील खेलकुद महासंघद्वारा आयोजित उक्त प्रतियोगिताको सबै तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिता यही २०८२ साल माघ १६ र १७ गते, बिहान ८ बजेदेखि काठमाडौँको कलंकीस्थित हाम्रो फुटसल ग्राउण्डमा सञ्चालन हुने छ ।

प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवा पुस्तालाई शारीरिक तथा मानसिक रूपमा सशक्त बनाउनुका साथै राष्ट्रका लागि जीवन आहुति दिने शहीदहरूको योगदानलाई स्मरण गर्नु रहेको आयोजक तथा प्रगतिशील खेलकुद महासंघका संयोजक विवेक दाहालले जानकारी दिए ।

दाहालका अनुसार प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका विभिन्न विद्यालय तथा कलेजस्तरीय टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापकीय तयारी पूरा भइसकेको पनि उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै प्रतियोगितालाई विभिन्न शैक्षिक संस्था, अस्पताल तथा सञ्चार माध्यमहरूको सहकार्य र सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

आयोजक संस्थाले सम्पूर्ण खेलप्रेमी दर्शक, विद्यार्थी तथा खेलकुदमा रुचि राख्ने सबैलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन अनुरोध गरेको छ ।