सरस्वती पूजाको नाममा शिक्षकमाथि जातीय विभेद, दोषीमाथि कडा कानुनी कारबाहीको माग
काठमाडौं । नेकपा (बहुमत) निकट संगठनले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसर पारेर शिक्षक माथि गरिएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालय जस्तो समानता, चेतना र प्रगतिशीलताको प्रतीक मानिने संस्थामै छुवाछूतजन्य अमानवीय व्यवहार हुनु अत्यन्तै निन्दनीय, आपत्तिजनक र अस्वीकार्य भएको संगठनको ठहर छ ।
संगठनकी केन्द्रीय उपाध्यक्ष रूपा बुढामगरले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएअनुसार, उक्त विद्यालयमा कार्यरत शिक्षक गजिराम सार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले “तल्लो जात” भन्दै पातमा टीका लगाइदिएको तथा कथित पुजारीले समेत टीका लगाउन अस्वीकार गरेको घटना सार्वजनिक भएको हो । यस्तो व्यवहार केवल व्यक्तिगत अपमान मात्र नभई दलित समुदायमाथि निरन्तर हुँदै आएको संरचनागत विभेदको ज्वलन्त उदाहरण भएको संगठनले जनाएको छ ।
वक्तव्यमा नेपालको संविधान तथा जातीय विभेद तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार यस्ता कार्य गम्भीर दण्डनीय अपराध भएको स्मरण गराउँदै घटनामा संलग्न दोषीमाथि यथाशीघ्र कडा कानुनी कारबाही गर्न र पीडित शिक्षकलाई सामाजिक आत्मसम्मानसहित उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
यस्तो छ वक्तव्य :


