स्वास्थ्य बीमा बन्द गरेर गरिब जनताको स्वास्थ्यसँग खेलबाड गरियो : जनस्वास्थ्यकर्मी संगठन

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध गरिनु जनताको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ ।

संगठनका केन्द्रीय संयोजक लोकेन्द्र सार्कीद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा स्वास्थ्य बीमा सेवा प्रभावित हुँदा जनताको उपचार, स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवामा पहुँच गम्भीर रूपमा संकटमा परेको उल्लेख गरिएको छ ।

वक्तव्यमा केही समययता स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भई अस्पताल तथा स्वास्थ्य संस्थामा सेवा अवरुद्ध हुन थालेकोप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ । राज्यले प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने संवैधानिक दायित्व हुँदाहुँदै पनि व्यवहारमा स्वास्थ्य सेवामा चर्को शुल्क असुलिँदै आएको उल्लेख गर्दै, यस्तो अवस्थामा स्वास्थ्य बीमाले गरिब तथा विपन्न वर्गलाई केही राहत दिएको संगठनको भनाइ छ ।

तर स्वास्थ्य माफियाको चलखेलमा परेर उक्त कार्यक्रमलाई योजनाबद्ध रूपमा कमजोर पार्दै बन्द गरिनु जनताको स्वास्थ्य अधिकारमाथिको प्रत्यक्ष कुठाराघात भएको संगठनको ठहर छ । संगठनले स्वास्थ्य बीमा बन्द गर्नु राज्यको गम्भीर गैरजिम्मेवारी भएको र यसले जनस्वास्थ्यलाई जोखिममा पारेको जनाएको छ ।

वक्तव्यमा चुनावका नाममा राज्यकोषबाट अर्बौँ रुपैयाँ खर्च गरिँदै आएको सन्दर्भ उल्लेख गर्दै, गरिब जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य बीमा कार्यक्रम रोक्नु जनविरोधी कदम भएको टिप्पणी गरिएको छ । यसले राज्यले जनताको स्वास्थ्यभन्दा राजनीतिक स्वार्थलाई प्राथमिकता दिएको स्पष्ट हुने संगठनको दाबी छ ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले स्वास्थ्य बीमा कार्यक्रम तत्काल पूर्ण रूपमा सञ्चालन गर्न, स्वास्थ्य सेवामा गरिएको गैरजिम्मेवार निर्णय फिर्ता लिन र नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। माग पूरा नभए जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कदमविरुद्ध सशक्त संघर्षमा उत्रिने चेतावनीसमेत संगठनले दिएको छ ।

यस्तो छ वक्तव्य :