नेपालमै विदेशी डिग्रीको नाममा ठगी, अखिल क्रान्तिकारीद्धारा संघर्षको घोषणा

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विदेशी डिग्री तथा बोर्डसँग सम्बन्धनको नाममा नेपालमा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरूबाट भइरहेको ठगी, शोषण र दमनविरुद्ध सडक संघर्षको घोषणा गरेको छ ।

बुधबार काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्दै संगठनले कानुनी आधारविहीन निर्देशिकाको आडमा विदेशी सम्बन्धनप्राप्त कलेजहरूले विद्यार्थीमाथि संगठित रूपमा लुटतन्त्र चलाइरहेको आरोप लगाएको हो ।

२०५९ सालमा मन्त्रिपरिषद्बाट जारी गरिएको विदेशी शिक्षण संस्थासम्बन्धी निर्देशिका नै अवैधानिक रहेको दाबी गर्दै अखिल (क्रान्तिकारी) ले त्यसकै आधारमा खुलेका कलेजहरूले विद्यार्थीलाई स्वदेशमै विश्वस्तरीय शिक्षा र विदेशमा आकर्षक रोजगारीको सपना देखाएर लाखौँ रुपैयाँ असुल्ने र अन्ततः विद्यार्थीलाई विदेश पलायन तथा श्रम शोषणमा फसाउने कार्य गरिरहेको जनाएको छ।

पत्रकार सम्मेलनमा संगठनका नेताहरूले त्रिभुवन विश्वविद्यालयले समेत अवैध प्रमाणपत्रलाई गैरकानुनी रूपमा समकक्षता प्रदान गर्दै शैक्षिक अपराधलाई वैधता दिएको आरोप लगाए। अधिकांश कलेजहरू विधिवत् सम्बन्धन नभई सहकार्यको नाममा सञ्चालन भइरहेका, पारदर्शिता नभएको, मनलाग्दी रूपमा विद्यार्थी भर्ना लिने तथा कलेज प्रशासनले राज्यसंयन्त्र प्रयोग गरी विद्यार्थीमाथि दमन गर्ने प्रवृत्ति बढ्दै गएको संगठनको भनाइ छ ।

अखिल (क्रान्तिकारी) ले द ब्रिटिस कलेजलाई विद्यार्थी ठगीको प्रतिनिधि उदाहरणका रूपमा उल्लेख गर्दै त्यसको सञ्चालन अनुमति खारेज गर्न, कलेज सञ्चालकलाई कारबाही गर्न तथा पीडित विद्यार्थीलाई क्षतिपूर्तिसहित न्याय दिन सरकारसँग माग गरेको छ ।

Birendra shah

पहिलो चरणका कार्यक्रमअन्तर्गत माघ ८ गते बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई मागपत्र बुझाइएको संगठनले जनाएको छ। संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहको नेतृत्वमा गएको टोलीले शिक्षा सचिव चुडामणि पौडेललगायत मन्त्रालयका अधिकारीलाई भेटी मागपत्र बुझाएको हो ।

चरणबद्ध संघर्ष कार्यक्रमअन्तर्गत माघ ९ गते कलेजहरूको बदमासी भण्डाफोर गर्ने, माघ १० गते विरोध प्रदर्शन गर्ने र माघ १२ गते विदेशी सम्बन्धनप्राप्त कलेजमा अध्ययनरत विद्यार्थीले भोगेका समस्याबारे अन्तरक्रिया कार्यक्रम गर्ने संगठनले जनाएको छ ।