युद्ध कमान्डर झकबहादुर मल्ल : जसले बुनेका छन् सुर्खेत समृद्धिका सपना
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेदवार बनाएको छ । दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेका र कठिन राजनीतिक यात्रा पार गरेका मल्लले अहिले पश्चिम सुर्खेतलाई समृद्धिको बाटोमा डोर्याउने बृहत् सपना बुनेका छन् । ०३६ साल मंसिर २२ गते अहिलेको बराहताल गाउँपालिका–४ तरङ्गामा जन्मिएका मल्लको राजनीतिक चेतना सानै उमेरमा जागृत भएको थियो ।

१४ वर्षको कलिलो उमेरमै ०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा संगठित भएर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए उनले । माओवादीले ०५२ साल फागुन १ गतेदेखि सुरु गरेको जनयुद्धमा उनी सुरुदेखिनै सामेल भइसकेका थिए । ०५३ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेलगत्तै उनी होलटाइमर भए । युवा अवस्थादेखि नै पार्टी संगठनमा सक्रिय मल्लले ०५५ सालमा अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष भए । ०५५ सालमै पार्टीको जिल्ला सदस्य भएका उनी युद्धको अग्रसरताका लागि पश्चिम दैलेख क्षेत्रको इन्चार्ज भएर महत्त्वपूर्ण भूमिका खेले ।
०५७ भदौमा तत्कालीन सरकारले माओवादी भएको आरोपमा उनीसहित १५ जना विद्यार्थी नेताहरूलाई पक्राउ गरेर सुर्खेत जेलमा हालेको थियो । झकबहादुर मल्लकै घरमा बसिरहेका बेला भदौ १८ गते उनी र विन्दमान विष्टलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तारीपछि ३५ दिन हिरासत र त्यसपछि जेल जीवन भोगेका मल्ल लगायतका विद्यार्थी नेताहरुले ०५८ साल माघ २ गते सुर्खेत जेलब्रेक गरे, जसको नेतृत्व मल्लले नै गरेका थिए । उनकै नेतृत्वमा १५ जना माओवादी आस्थाका विद्यार्थी नेतासहित कूल ३० जनाले सुरुङ खनेर जेलबाट भाग्न सफल भए । सुर्खेत ‘जेलब्रेक’ घटना माओवादी जनयुद्धको चर्चित घटना हो । जेलबाट बाहिर निस्किएलगत्तै उनी पार्टीको उच्च जिम्मेवारीमा पुगे । ०५९ सालमा उनले सुर्खेतको जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हाले । सँगै उनी माओवादीको जनमुक्ति सेनामा समेत महत्त्वपूर्ण कमान्ड सम्हाले । उनले कम्पनी, बटालियन र ब्रिगेड कमिसारको हैसियतमा देशका विभिन्न मोर्चाका लडाइँहरूमा सक्रिय सहभागिता जनाएका थिए ।
‘ती लडाइँहरु वर्गीय विभेद र समानताका लागि थिए,’ मल्ल भन्छन् ।
परिवर्तनको लडाइँमा उनले ठूलो व्यक्तिगत क्षति पनि बेहोर्नुप¥यो । युद्धकै क्रममा ०५८ सालमा उनले आफ्ना दाजु कुलबहादुर मल्ल ‘भिष्म’ र ०५९ साल जेठमा आफ्नो जीवनसाथि भुमिसरा वली ‘सिमा’ लाई गुमाए । उनी स्वयं सहिद परिवारका सदस्य हुन् । मल्ल भन्छन्, ‘सहिदहरुकै बलिदानी र हाम्रो कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र, समानुपातिक समावेशीता, वर्गीय विभेदको अन्त्य भयो ।’ यद्यपि जुन उद्देश्य अनुरुप जनयुद्ध सुरु भएको थियो, जनताले जुन अपेक्षा गरेका थिए, त्यसमा केही कमी रह्यो । व्यवस्था बदलिए पनि जनताको अवस्थामा जुन रुपमा रुपान्तरण आउनुपथ्र्यो, त्यो आएन । ‘अब त्यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने छ,’ उनले थपे, ‘त्यही उद्देश्यअनुरुप हामी रुपान्तरित भएर जनतामा आएका छौँ ।’
उसो त जनयुद्धको समयमा उच्च कमान्डमा रहेर युद्धको नेतृत्व गरेका मल्लले शान्ति प्रक्रिया अगावै विकास निर्माणमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरे । जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (०५९÷६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार उनकै नेतृत्वमा बसालिएको थियो । यस्तै, उनकै पहलमा ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात पनि भएको थियो ।
शान्ति प्रक्रियापछि सेना समायोजनपश्चात् उनी बाहिर निस्किएर माओवादी निकट युवा दस्ता वाइसीएलको केन्द्रीय सदस्य बने । ०६९ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका मल्लले पार्टीको स्कूल विभागको सदस्य र पछिल्लो समय ०७७÷७८ सालतिर कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञको रूपमा पनि काम गरे । हाल नेकपाको केन्द्रीय सदस्य रहेका मल्लले अहिलेसम्म कुनै पनि सरकारी लाभको पद लिएका छैनन् । जनयुद्ध र राजनीतिक आन्दोलनमा लामो समय बिताएका उनी अब पश्चिम सुर्खेतको समग्र विकास र समृद्धिका लागि आफ्नो राजनीतिक अनुभव लगाउने प्रणसहित चुनावी मैदानमा उत्रिएका छन् ।
यस्ता छन्, उनका प्रतिबद्धताहरु
— गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा ‘आइटी कलेज’ स्थापना गरि प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी शिक्षामा पहुँच ।
—प्रदेश अस्पताललाई अत्याधुनिक र राष्ट्रियस्तरमा स्तरोन्नति गरेर प्रत्येक नागरिकलाई सुलभ, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता । पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना ।
—उज्यालो सुर्खेत र समृद्ध भविष्य’का लागि टोल–टोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा ।
— स्थानीय पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास र औधोगिक क्रान्तिमार्फत आर्थिक समृद्धि र स्वदेशमै सम्मानजनक रोजगारीको ग्यारेन्टी
—प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक र नमुना शहरका रुपमा विकास गर्दै उपमहानगरपालिकामा स्तरोन्नति । बराहताल, पञ्चपुरी र चौकुनेमा व्यवस्थित बस्ति विकास र शहरीकरण ।
—विमानस्थल र रत्न राजमार्गको स्तरोन्नति तथा पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जाल विस्तारद्वारा समृद्ध सुर्खेतको आधार निर्माण ।
—गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता कार्यान्वयन गर्ने ।
—मानवअधिकार, सामाजिक न्यायको सुनिश्चित गर्ने ।
—जातीय विभेद अन्त्य गर्ने र समतामूलक समाज निर्माण गर्ने ।

