सिटिइभिटीको नयाँ उपाध्यक्षमा मोहम्मद सफीउल्लाह नियुक्त, पदभार ग्रहण
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदमा मोहम्मद सफीउल्लाह नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार नियुक्त भएपछि सफीउल्लाहले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो । यसअघि उहाँ नेपाल औषधि लिमिटेडको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
नवनियुक्त उपाध्यक्षज्यूलाई परिषद्का सदस्य–सचिव इ. महेश भट्टराईले स्वागत गर्नुभएको छ ।
परिषद् कार्यालयमा आयोजित स्वागत कार्यक्रममा नवनियुक्त उपाध्यक्षज्यूले परिषद्ले देशलाई आवश्यक पर्ने आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको बताउनुभयो । सिटिइभिटीले आगामी दिनमा दक्षतामा आधारित गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिममा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
परिषद् अन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा लामो अनुभव भएका जनशक्ति कार्यरत रहेको उल्लेख गर्नुहुँदै उहाँले यही अनुभवको सही उपयोगबाट परिषद्लाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा परिषद् कार्यालयका निर्देशकहरू, परिषद्मा क्रियाशील विभिन्न ट्रेड युनियनका पदाधिकारीहरू तथा कर्मचारीहरूले समेत नवनियुक्त उपाध्यक्षज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।



