काठमाडौं–१ को विवाद : राप्रपाले टिकट बाँड्न सकेन, रबिन्द्रले पाए विद्रोहको खतरा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं–१ मा विवाद चर्किएपछि उम्मेदवार चयन गर्न सकेको छैन । पार्टीभित्रको यो विवादले काठमाडौंभर उम्मेदवार टुंगो नलाग्ने अवस्था सिर्जना गरेको छ ।

काठमाडौं–१ मा पार्टीका सह–कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र दुवैजनाको दाबी परेपछि विवाद उत्पन्न भएको हो, जसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि देखिएको छ ।
क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणा लाई पहिलो र शोभित उप्रेती लाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । तर राणाले उम्मेदवार नबन्ने घोषणा गरेपछि, उप्रेतीले स्वतः आफ्नो दाबी पेश गरेका छन् । मिश्रले पनि आफ्नो उम्मेदवारी कायम रहने बताएका छन्।
वरिष्ठ उपाध्यक्ष मिश्र यस निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भइसकेका छन् भने यसपटक क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको थिएन । मिश्रले आफ्नै पहलमा बैठक राखेर आफ्नो नाम जिल्ला समितिमा पठाएका थिए । पार्टी भित्रको मतविभाजनको कारण, यदि रबिन्द्र मिश्रले टिकट पाए भने विद्रोहको खतरा देखिएको छ ।
राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ । उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाइने कुरा केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ ले जानकारी दिएका छन् ।

