यथास्थितिमा हुने संसदीय चुनाव बहिष्कार गर्छौँ : दीपक
वीरेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता उदयबहादुर चलाउने ‘दीपक’ले यथास्थितिमा हुने संसदीय निर्वाचन प्रक्रियालाई बहिष्कार गर्ने घोषणा गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित संयुक्त संघर्ष समितिद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संसदीय निर्वाचनको औचित्य विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका नेता दीपकले वर्तमान संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको दाबी गर्नुभयो । उहाँले उक्त व्यवस्था अन्तर्गत हुने निर्वाचनले देशका विद्यमान समस्या समाधान गर्न नसक्ने स्पष्ट गर्नुभयो ।
एक प्रसङ्गमा उहाँले सरकारद्वारा रवि लामिछानेमाथि लागेको सहकारी ठगीसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय जेन–जी विद्रोहको मर्मविपरीत रहेको उल्लेख गर्दै यस्तो निर्णयले भ्रष्टाचार र ठगीलाई संस्थागत गर्ने काम भएको आरोप लगाउनुभयो ।
नेता दीपकले स्वाधीनता र जनअधिकार सुनिश्चित हुने राष्ट्रिय सहमति आजको प्रमुख आवश्यकता भएको बताउँदै संसदीय चुनावले देशका आधारभूत समस्या समाधान गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले वैज्ञानिक समाजवादी व्यवस्था नै वर्तमान संकटको अग्रगामी निकास भएको धारणा व्यक्त गर्नुभयो ।

