काठमाडौं–१ मा दलभन्दा माथि उठेर स्थानीय उम्मेदवार सघाउने समझदारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १ का मतदाताहरूले कस्तो प्रतिनिधि चयन गर्ने भन्ने विषयमा गम्भीर छलफल सुरु गरेका छन् ।

दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छनोट गर्दा स्थानीय, सक्षम र समाजमा गहिरोसँग जोडिएका व्यक्तिहरू ओझेलमा पर्ने र यसको असर अन्ततः देशमै पर्ने निष्कर्षमा स्थानीयवासी पुगेका छन् । उनीहरूले समाज बुझेको, स्थानीय अवस्था र जनजीवनसँग प्रत्यक्ष परिचित व्यक्तिलाई प्राथमिकताका साथ सघाउनुपर्ने धारणा बनाएका छन् ।

काठमाडौँ क्षेत्र नं. १ मा माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवीहरूले अब राजनीतिक दलभन्दा माथि उठेर स्थानीय उम्मेदवारलाई समर्थन गर्ने समझदारी गरेका छन् ।

कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, समाजसेवी शोभित उप्रेती, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्व प्रहरी अधिकारी रमेश खरेल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले राष्ट्र निर्माणका लागि दलगत स्वार्थभन्दा माथि उठेर असल, इमानदार र सक्षम उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याए ।

उनीहरूले प्रतिनिधि जनताको सेवक हुनुपर्ने उल्लेख गर्दै बाहिरबाट ल्याइने ‘प्यारासुट उम्मेदवार’ स्वीकार्य नहुने स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री भुवन पाठकले जनभावना बुझेर उम्मेदवार चयन गर्न आफ्नो पार्टी गम्भीर रहेको बताएका थिए ।

काठमाडौं–१ का बुद्धिजीवी तथा स्थानीयवासीहरूले दलहरूलाई ध्यानाकर्षण गराउँदै स्थानीय समाजसँग असम्बन्धित कुनै पनि उम्मेदवारलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।