विप्लव चुनाव लड्न रोल्पा तिर, जिल्ला इन्चार्ज सन्तोष सुवेदी अनन्ततिर

रोल्पा । आगामी प्रतिनिधि सभाको निर्वाचन रोल्पामा राजनीतिक रूपमा अझ तातो बनेको छ । नेकपा (माओवादी) का महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ पहिलो पटक रोल्पाबाट संसदीय चुनाव लड्ने तयारीमा छन् ।

तर यसैबीच विप्लवका विश्वास पात्र, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी अनन्त-प्रचण्डतिर फर्किएका छन् । सुवेदी हाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् र उनलाई पार्टी संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले स्वागत गरेका थिए ।

सुवेदी माओवादी नेता झुक्कु सुवेदीका छोरा हुन् । उनी ०७२ सालमा प्रचण्डसँगको सम्बन्ध छाडेका थिए भने १० वर्षपछि पुनः प्रचण्डसँग फर्किएका हुन् । यस कदमले रोल्पामा राजनीतिक समीकरणलाई नयाँ मोड दिएको छ ।

पहिलो पटक रोल्पाबाट प्रतिनिधि सभाको निर्वाचन लड्न लागेका विप्लव नेतृत्वको माओवादीका विश्वास पात्र, पार्टी जिल्ला इञ्चार्ज सन्तोष सुवेदी, प्रचण्डतिर फर्किएपछि विप्लव तीब्र दबावमा परेका छन् ।

विश्लेषकका अनुसार रोल्पामा यस पटकको निर्वाचन व्यक्तिगत प्रतिष्पर्धा मात्र नभई विप्लव र अनन्त दुवै नेताको जनसमर्थन र राजनीतिक प्रभावको वास्तविक परिक्षा बन्नेछन ।