आज पौष २९ गते उपत्यका बन्द

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले आज पौष २९ गते काठमाडौं उपत्यकामा बन्दको आह्वान गरेको छ । स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको मागसहित, वर्तमान संविधान अन्तर्गत सञ्चालन हुन लागेको संसदीय निर्वाचन बहिष्कार गर्न दबाब सिर्जना गर्ने उद्देश्यले एकदिने उपत्यका बन्दको कार्यक्रम घोषणा गरिएको हो ।

नेकपा (बहुमत) सहित ६ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले जारी गरेको वक्तव्यमा वर्तमान संविधान र यसअन्तर्गतको निर्वाचन प्रक्रियाले न त निःशुल्क शिक्षाको समस्या समाधान गर्न सक्ने, न त भ्रष्टाचार अन्त्य गर्न सक्ने, न त राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्ने उल्लेख गरिएको छ । जनसंविधान नलेखिँदासम्म यस्ता निर्वाचनहरूले भ्रष्टाचार, दलाली र शोषणलाई नै पुनः उत्पादन गर्ने समितिको ठहर छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल; वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल; नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) तथा समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले देशव्यापी आन्दोलन अघि बढाउने निर्णयअनुसार चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका अनुसार उपत्यका बन्द आन्दोलनको प्रारम्भिक चरणअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो, जसमार्फत जनसंविधान र वैकल्पिक राजनीतिक निकासका पक्षमा जनदबाब निर्माण गरिनेछ ।