भेनेजुएलामाथि आक्रमण सम्पूर्ण उत्पीडित राष्ट्रमाथिको आक्रमण हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई नाङ्गो, भद्दा र निर्लज्ज प्रकारको साम्राज्यवादी आक्रमण भएको बताएका छन् ।

महासचिव बास्तोलाले उक्त कुरा काठमाडौंको माइतीघरमा नेकपा (बहुमत) सहित नेपालका छ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले आयोजित विरोध कोणसभालाई सम्बोधन गर्दै, उक्त आक्रमण भेनेजुएलामाथि मात्र नभई कुनै पनि सार्वभौम राष्ट्र र विश्वका सम्पूर्ण उत्पीडित देश तथा जनतामाथिको साम्राज्यवादी आक्रमण भएको भन्दै यसको विश्वव्यापी विरोध आवश्यक रहेको बताए।

उनले यसै वर्ष मात्रै इरान, इराकलगायत करिब एक दर्जन देशमा अमेरिकी आक्रमण भएको स्मरण गर्दै अमेरिकी साम्राज्यवादले संसारभर आतंक मच्चाइरहेको आरोप लगाए। डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको दाबी गरिरहेको सन्दर्भ उठाउँदै उनले भने, “यदि हिटलर र मुसोलिनीको नाममा पुरस्कार स्थापना गरिएको भए, त्यो पुरस्कार डोनाल्ड ट्रम्पलाई दिनुपर्थ्यो, किनकि उनी आजको संसारका एक नम्बर फासीवादी हुन्।”

महासचिव कञ्चनका अनुसार विश्वभर साम्राज्यवादी आतंक सिर्जना गर्न अमेरिका वार्षिक रूपमा हजारौँ करोड डलर खर्च गरिरहेको छ। उनले एनजिओ, आइएनजिओ तथा विभिन्न विकास परियोजनाको आवरणमा अमेरिकी साम्राज्यवादले विश्वभर हस्तक्षेप र आतंक फैलाइरहेको दाबी गर्दै, नेपालमा एमसिसी र एसपिपी त्यसकै उदाहरण भएको बताए।

उनले विश्वभरका प्राकृतिक स्रोत र खनिजले धनी देशहरूमा अमेरिकाले आँखा लगाउने गरेको उल्लेख गर्दै, नेपाली जनताको स्वाधीनता र सार्वभौमिकताको रक्षा तथा साम्राज्यवादको विरोधमा भेनेजुएलाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।

महासचिव कञ्चनले संसारभरका जनतालाई साम्राज्यवाद विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट हुन अपिल गरे। साथै अमेरिका र डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय नियम र कानुनको उल्लङ्घन गरेको भन्दै त्यसलाई संयुक्त राष्ट्रसंघले नियन्त्रण गर्नुपर्ने, अन्यथा संयुक्त राष्ट्रसंघको औचित्य समाप्त हुने चेतावनी पनि दिए।

अन्त्यमा उनले अमेरिकाभित्रै रहेका साम्राज्यवादविरोधी क्रान्तिकारी शक्तिप्रति ऐक्यबद्धता व्यक्त गर्दै, विश्वभरका उत्पीडित राष्ट्र र जनताले ती शक्तिहरूलाई सहयोग र समर्थन गर्नुपर्ने बताए।