रक्तदान मार्फत अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो विद्यार्थी जागरण अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रममार्फत विद्यार्थी जागरण अभियान को औपचारिक शुभारम्भ गरेको छ । संगठनले रगतलाई बलिदान, संघर्ष र परिवर्तनको ऐतिहासिक प्रतीकका रूपमा व्याख्या गर्दै अभियान सुरु गरेको हो ।

संगठनको केन्द्रीय समितिको आयोजनामा आज जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा रक्तदान गर्दै अभियानको उद्घाटन गरिएको हो । क्रान्तिकारी आन्दोलनमा रगतले बलिदानको इतिहास बोकेको र त्यसै रगतले जीवन बचाउने जिम्मेवारी पनि वहन गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ ।

निःशुल्क शिक्षा, भ्रष्टाचारको अन्त्य तथा राष्ट्रिय स्वाधीनताको रक्षाको उद्देश्यसहित विद्यार्थी जागरण अभियान सुरु गरिएको जनाउँदै संगठनले यो अभियान देशव्यापी रूपमा सञ्चालन गरिने जानकारी दिएको छ । संगठनका अनुसार यो अभियानले विद्यार्थीहरूलाई अन्याय, शोषण र दमनविरुद्ध सचेत र संगठित बनाउने लक्ष्य राखेको छ ।

अभियान उद्घाटन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बिरन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, महासचिव उषाकिरण आजादलगायत विद्यार्थी संगठनका नेता–कार्यकर्ता, विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले रगत क्रान्तिकारीहरूको इतिहासको रातो दस्तावेज भएको उल्लेख गर्दै, आजको रक्तदानले भोलिको संघर्ष, एकता र परिवर्तनको चेतनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।