भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी हिरासतमा, उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रप्रमुख

काठमाडौं। अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्यूयोर्कस्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलामाथि सैन्य कारबाही गरी राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्। उनले अमेरिकी युद्धपोत यूएसएस इवो जिमा भित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार मदुरो दम्पतीलाई भेनेजुएलाबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगेर क्यारिबियन क्षेत्रमा रहेको अमेरिकी युद्धपोत हुँदै न्यूयोर्क पुर्‍याइएको हो।

न्यूयोर्कको स्टुवर्ट एयर नेशनल गार्ड बेसमा अवतरणपछि उनीहरूलाई हेलिकप्टरमार्फत म्यानहटन लगिएको र त्यसपछि ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्‍याइएको जनाइएको छ।

यसैबीच, कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रप्रमुखको जिम्मेवारी दिने आदेश जारी गरेको छ। अदालतको आदेशमा प्रशासनिक निरन्तरता र राष्ट्रिय सुरक्षाको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ।

भेनेजुएलाले अमेरिकी कारबाहीलाई “गम्भीर सैनिक आक्रमण” भन्दै देशभर राष्ट्रिय आपत्काल घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको विधानको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

चीन र रुसको समर्थनमा कोलम्बियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान गरेको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार मदुरो र उनकी पत्नीमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा लागुऔषध–आतङ्कवाद, हतियार तस्करी र अमेरिकाविरुद्ध षड्यन्त्रसम्बन्धी अभियोग दर्ता गरिएको छ। मदुरोले भने यी आरोपहरू अस्वीकार गर्दै आएका छन् ।