छन् सोङ फर्किए, चाङ माओमिङ नेपालका लागि नयाँ चिनियाँ राजदूत तोकिए
काठमाडौं । जनगणतन्त्र चीनले नेपालका लागि नयाँ राजदूतका रूपमा चाङ माओमिङलाई मनोनयन गरेको छ। चीन सरकारले उनको नियुक्तिका लागि आवश्यक एग्रिमो नेपाल सरकारसमक्ष बुझाइसकेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले चाङ माओमिङको एग्रिमो हिजो परराष्ट्र मन्त्रालयमा पेश गरेको हो । तीन वर्षे कार्यकाल पूरा गरी पदोन्नतिसहित दुई साताअघि स्वदेश फर्किएका पूर्व राजदूत छन् सोङको स्थानमा चाङलाई पठाउन लागिएको हो ।
चाङ माओमिङ हाल चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत नीति तथा योजना विभागमा निर्देशकका रूपमा कार्यरत छन् । उक्त विभागले विश्व राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्धका रणनीतिक विषय तथा कूटनीतिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नयाँ नियुक्त हुन लागेका राजदूत चाङ नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा पहिलेदेखि नै परिचित अनुहार हुन् । यसअघि विभिन्न औपचारिक कार्यक्रम तथा भेटघाटमार्फत उनले नेपाली राजनीतिक नेतृत्व र उच्च सरकारी अधिकारीहरूसँग संवाद गरिसकेका छन् । उनी नेपालका आन्तरिक र बाह्य मामिलाबारे जानकार चिनियाँ कूटनीतिज्ञका रूपमा चिनिन्छन् ।

