अखिल (क्रान्तिकारी)को चेतावनी : निजीकरणले सार्वजनिक स्वास्थ्य शिक्षा कमजोर
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत नर्सिङ अध्ययन गर्न इच्छुक दशौं हजार विद्यार्थी आवेदन दिए पनि अभ्यासको अभावले अध्ययनबाट वञ्चित हुन बाध्य छन् । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै राज्यको अकर्मण्यता र निजीकरण प्रवृत्तिप्रति कडा चेतावनी दिएको छ ।

संगठनका अनुसार शिक्षा र स्वास्थ्य मन्त्रालयबीचको समन्वय अभाव, निर्णयहीनता र अकर्मण्य प्रशासनले राज्यकै संवैधानिक दायित्वलाई चुनौती दिएको छ । नर्सिङ विद्यार्थीको प्रयोगात्मक अभ्यास सुनिश्चित नगरी कार्यक्रम सञ्चालन रोक्नु भनेको सार्वजनिक स्वास्थ्य शिक्षा कमजोर बनाउने र निजी शिक्षण संस्थालाई फाइदा पुर्याउने व्यवस्थित प्रयास हो ।
अखिल (क्रान्तिकारी)ले माग गरेको छ कि संघीय र प्रदेश सरकार मातहत सञ्चालित कम्तीमा १०० बेड क्षमताका सरकारी अस्पतालहरूलाई अभ्यासका लागि तुरुन्त प्रयोगमा ल्याइयोस् । यदि राज्य गम्भीर नबन्ने हो भने विद्यार्थी, अभिभावक र सरोकारवाला निकायसँग सहकार्य गर्दै देशव्यापी संघर्षका कार्यक्रम घोषणा गर्न संगठन बाध्य हुने चेतावनी समेत पत्रमा दिइएको छ ।
संगठनले निजीकरण र व्यापारीकरणमुखी नीतिको विरोध गर्दै सुलभ प्राविधिक तथा स्वास्थ्य शिक्षाको पहुँच विस्तार गर्न, नर्सिङ कार्यक्रमहरू निर्वाध सञ्चालन गर्न र राष्ट्रलाई आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्न सरकारसँग तत्काल ठोस निर्णय लिन जोडदार माग गरेको छ ।
यस्तो छ ध्यानाकर्षण पत्र :


