रवि-बालेन दागरहित नेता-व्यक्ति होइनन् : महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहित नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।

‘यसबाट खासै प्रभाव पर्ने मैले देखेको छैन । उहाँहरू कुनै दागरहित र प्रश्न नभएका व्यक्तित्व त होइन । न रास्वपाका नेता न बालेनजी । धेरै ठूलो प्रश्न उठेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्,’ उनले भने, ‘शासन चलाउने भनेको सुस्पष्ट नीति दिशा हुनुपर्छ । अनुभव पनि हुनुपर्छ ।

देशव्यापी संगठन पनि हुन्छ । यो भयो भने मात्र जनताको विश्वास लिन सकिन्छ । यसका लागि कांग्रेस नै मुख्य दल हो । नेपाली कांग्रेसले उहाँहरू मिल्नुभयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’