काठमाडौं–१ मा राप्रपाको स्थानीय उम्मेदवार, शोभित उप्रेतीमा सहमति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ। सोही क्रममा स्थानीय अगुवाहरू शोभित उप्रेतीको नाममा एकमत भएका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै क्षेत्र नम्बर १ का विभिन्न अगुवाहरूले स्थानीय उम्मेदवार आवश्यक रहेको स्पष्ट पारेका छन्। आफूहरू मतदाता रहेको क्षेत्रमा बाहिरबाट आएका उम्मेदवारभन्दा स्थानीय पृष्ठभूमि, निरन्तर बसोबास र जनतासँग प्रत्यक्ष सम्बन्ध भएको व्यक्तिलाई अघि सार्नुपर्ने उनीहरूको जोड छ।
राजनीतिज्ञ, कलाकार, साहित्यकार र पत्रकारसहित करिब तीन सय जनाको उपस्थितिमा भएको भेलाले अन्यत्रबाट आएर ‘भाइरल’ हुन खोज्ने उम्मेदवारलाई सहयोग नगर्ने निर्णय गरेको छ। साथै, पटक–पटक निर्वाचनमा उठिसकेका, निर्वाचित वा पराजित भइसकेका उम्मेदवारलाई समेत स्वीकार नगर्ने धारणा व्यक्त गरिएको छ।
भेलामा सहभागी अगुवाहरूले स्थानीय रैथाने उम्मेदवार भएमा काँधमा काँध मिलाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्र नम्बर १ का जनताको भावना बुझ्ने र ती भावनालाई राष्ट्रिय राजनीतिसँग जोड्न सक्ने क्षमता भएको उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने उनीहरूको भनाइ छ।

हालसम्म काठमाडौं–१ मा राप्रपा र नेपाली कांग्रेसले मात्र उम्मेदवार सिफारिस गरेका छन्। राप्रपाबाट पशुपति शमशेर राणा र शोभित उप्रेतीको नाम सिफारिस भइसकेकोमा राणाले उम्मेदवार नहुने बताएपछि उप्रेती नै उपयुक्त उम्मेदवार भएको निष्कर्ष स्थानीय अगुवाहरूको संयुक्त भेलाले निकालेको हो।
बानेश्वर एकता समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष चमन कोइरालाले क्षेत्रका अगुवाहरूको आग्रहमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, क्षेत्रका अगुवा विनोद दवाडी, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ, अगुवा महिला रीना वली शाही तथा राप्रपा नेता नवीन शाहीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले शोभित उप्रेतीको उम्मेदवारी सिफारिसलाई कायम राख्न जोडदार माग गरेका छन्।


