सुर्खेत–२ बाट झकबहादुर मल्ललाई नेकपाको सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि झकबहादुर मल्ल ‘सुदीप’ लाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मल्लको नाम पार्टी केन्द्रमा पठाइएको पार्टी स्रोतले जनाएको छ । उम्मेदवार छनोटका लागि नेकपा जिल्ला कार्यसमिति सुर्खेतको शुक्रबार बसेको बैठकले मल्लको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा सुरुमा पाँच जनाले प्रत्यक्ष उम्मेदवार बन्न दाबी प्रस्तुत गरेका थिए। भूपेन्द्र जोशी, खडानन्द लामिछाने, गणेश भण्डारी, डिलु खड्कालगायत नेताहरूबीच दिनभर छलफल चलेपछि अन्ततः मल्लकै नाममा सहमति जुटेको बताइएको छ ।

प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत पर्ने सुर्खेत–२ मा २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी उम्मेदवार बनेर निर्वाचित भएका थिए । यसपटक भने एकीकृतसहितको नेकपाले पूर्व माओवादी जनमुक्ति सेनाका लडाकु मल्ललाई अघि सारेको हो ।

मल्ल माओवादी केन्द्रमा रहँदा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। सशस्त्र युद्धका क्रममा सुर्खेत जेलब्रेकका कमाण्डरसमेत रहेका उनी युवामाझ लोकप्रिय नेता मानिन्छन् । मल्ल पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसैबीच, सुर्खेत–१ को प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारबारे निर्णय छिट्टै सार्वजनिक गरिने पार्टीले जनाएको छ ।