जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्षमा थापा सर्वसम्मत

खलंगा, जाजरकोट जनप्रिय माध्यमिक दशेरा जाजरकोटको व्यवस्थापन समितिको अध्यक्षमा जागेश्वर थापा चयन भएका छन् ।

छेडागाड नगरपालिका ३ दशेरामा अवस्थित जनप्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जाग्यश्वोर थापा सर्वसम्मत रूपमा चयन भएका हुन्। उक्त विद्यालय जाजरकोट पश्चिम क्षेत्रकै नमुना विद्यालयका रूपमा परिचित छ।

थापा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जाजरकोटस्थित जन ज्ञानकुञ्ज क्याम्पसका पहिलो स्ववियू (स्वतन्त्र विद्यार्थी युनियन) सभापति हुन्। डिप्लोमा फार्मेसी अध्ययन पूरा गरिसकेका उनी हाल स्नातकोत्तर तहमा अध्ययनरत छन्।

ऊर्जाशील, सक्रिय र दृढ इच्छाशक्तिका धनी व्यक्तित्वका रूपमा उनी परिचित छन्। अध्यक्षमा चयन भएपछि थापाले विद्यालयको समग्र सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका थापाले स्थानीय समुदायमा सकारात्मक छवि निर्माण गर्दै आएका छन।

थापा देशको समग्र शैक्षिक अवस्था कमजोर बन्दै गएकाले विद्यालय तहमा देखिएका कमी–कमजोरीहरू तत्काल सुधार गर्नु आवश्यक रहेको कुरा उठाउदै आएका छन ।

कक्षा–कोठाको प्रभावकारी व्यवस्थापन, विद्यालयलाई प्रविधिमैत्री बनाउने पहल, तथा शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राखी पारदर्शी र उत्तरदायी प्रशासन कायम गर्नु आफ्ना प्रमुख प्राथमिकता रहेको उनले बताए ।

“विद्यालय तहबाटै शिक्षालाई दिगो र सक्षम बनाउन सकिएन भने भविष्यमा पनि यस्तै समस्या दोहोरिरहनेछ,” थापाले भने, “गुणस्तरयुक्त शिक्षा प्रणाली निर्माणमा म पूर्ण रूपमा समर्पित रहनेछु ।” विद्यालय व्यवस्थापन समितिमा नयाँ युवा नेतृत्व चयन भएसँगै स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले आगामी दिनमा विद्यालय अझ प्रभावकारी, व्यवस्थित र विश्वसनीय शैक्षिक केन्द्रका रूपमा विकास हुने अपेक्षा व्यक्त गरेका छन्।