रवीन्द्र मिश्रलाई नेताको दैलो चहार्न छोडेर क्षेत्रीय समितिको सामना गर्न मदनदासको चुनौती
काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाउँदै हिँड्नु भन्दा आफ्नै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सामना गर्न चुनौती दिएका छन् ।

मिश्रले पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत क्षेत्रीय समितिको निर्णयलाई चुनौती दिएको उनको भनाइ छ ।
मदनदास भन्छन्—“म सहितको उपस्थितिमा ११ जना सदस्यले गरेको निर्णय सार्वजनिक भइसकेको छ। हामीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारबारे स्पष्ट पारेका छौँ। रवीन्द्रजी सिफारिसमा परेका छैनन्। उनले अवैध ढङ्गले आफैँ सिफारिसको हल्ला मच्चाएपछि हामीले बैठक बसेर त्यस भ्रममा नपर्न आग्रह गरेका हौँ।”
मिश्रले कमजोरी स्वीकार नगरी बलजफ्ती गरिरहेकाले उनलाई महँगो पर्ने बताउँदै समिति सदस्य विनोद दवाडी भन्छन्—“पशुपतिशम्शेर राणासहित प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ डा. जयन्त खनालसहित ६ जना सिफारिस भएका छन्। पहिलो नम्बरमा रहेका राणालाई उम्मेदवार नबन्ने अधिकार छ। उनी नभए दोस्रो नम्बरका शोभित उप्रेती स्वतः उम्मेदवार बन्छन्।”
“जहाँसम्म रवीन्द्र मिश्र सिफारिस भएको कुरा छ, त्यो शतप्रतिशत बेइमानी र कीर्ते हो। मिश्र सिफारिस भएको भनिएको पत्रको मितिबाटै त्यो गलत भएको सिद्ध हुन्छ,” दवाडी भन्छन्।
मिश्र सिफारिस भएको भनिएको मिति २०८२ भदौ ६ गते रहेको छ। जेनजी आन्दोलन हुनुअघि नै सिफारिसको मिति राखिनु मिश्रको हतास मनस्थितिको उपज देखिन्छ। उनले अध्यक्ष रामेश्वर श्रेष्ठलाई झुक्याएर हस्ताक्षर गराएको दवाडी बताउँछन्।
मिश्रले पशुपतिशम्शेर राणाको भिडियो आफैँ सामाजिक सञ्जालमा राखेपछि काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय समिति तथा कार्यकर्ताहरू रवीन्द्र मिश्रविरुद्ध खनिएका छन्।
यदि रवीन्द्र मिश्रले क्षेत्र नम्बर १ मा उम्मेदवारीको दाबी गरे भने राप्रपाको क्षेत्र नम्बर १ मा ठूलो विद्रोह हुने दवाडीले चेतावनी दिएका छन् ।

