रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधि सिफारिसका विषयमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ ।

आज बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित ४ जनाको र समानुपातिकतर्फ प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनाको सिफारिस भइसकेको स्पष्ट पारेको छ। साथै, सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका भ्रामक सूचनामा विश्वास नगर्न अनुरोध गरिएको छ।
क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरी सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गराइसकिएको जानकारी दिँदै बैठकले सो निर्णयमा कुनै फेरबदल नभएको र पूर्ववत् निर्णयमै प्रतिबद्ध रहेको जनाएको छ।
बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बाग्मती प्रदेश ‘ख’ का अध्यक्ष भीमसेन पुरी, समिति सदस्य विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा नम्बर ३१ का अध्यक्ष चमन कोइराला, वडा नम्बर ११ का अध्यक्ष अम्बिका अर्याल, वडा नम्बर २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य शक्ति चौंलागाईं, विपिन वली तथा वडा नम्बर ३१ का सचिव रामकिशोर सहभागी थिए।
कुल १६ सदस्यीय समितिमध्ये ११ सदस्यको बहुमतबाट उक्त निर्णय गरिएको हो।


