फागुन २१ मै चुनाव, नभए संसद
काठमाडौं । फागुन २१ गते तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा सबै प्रमुख राजनीतिक दलहरू एकमत देखिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज सम्पन्न सर्वपक्षीय छलफलमा सहभागी दलका नेताहरूले तोकिएको समयमा निर्वाचन हुन नसके प्रतिनिधिसभा पुनर्स्थापना हुने स्पष्ट चेतावनी दिएका हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दलका नेताहरूले निर्वाचनको विकल्प नरहेको भन्दै सरकारलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न आग्रह गरे । अधिकांश नेताहरूले वर्तमान अवस्थाले निर्वाचनको वातावरण कमजोर बन्दै गएको गुनासोसमेत व्यक्त गरेका थिए ।
नेकपाका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरूको गैरजिम्मेवार अभिव्यक्तिका कारण निर्वाचन प्रभावित हुने खतरा रहेको बताउँदै निष्पक्ष चुनाव गराउन नसके सरकार नैतिक रूपमा जिम्मेवार हुनुपर्ने धारणा राखे । यस्तै, नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारकै व्यवहारका कारण चुनावप्रति विश्वास गर्न कठिन भएको भन्दै फागुन २१ मा निर्वाचन नभए प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य हुने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले नेता, पार्टी र उम्मेदवारहरूको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिँदै चुनावको विकल्प नभएको स्पष्ट पारे । नेकपाका नेता वर्षमान पुनले पनि घोषित मितिमै निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिँदै संविधानविपरीत मिति सार्ने प्रयास अस्वीकार्य हुने चेतावनी दिए ।
दलका नेताहरूले सरकारलाई निर्वाचनको वातावरण निर्माण गर्न तत्काल पहल गर्न आग्रह गर्दै, तोकिएको मितिमा चुनाव हुन नसके देश पुनः संवैधानिक संकटतर्फ जाने संकेतसमेत गरेका छन् ।

