पुन:संगठित हुँदै जनमुक्ति सेना, १७ सदस्यीय संयोजन समिति गठन

काठमाडौँ । पूर्व जनमुक्ति सेना नेपालका योद्धाहरूले दाङको संग्राम व्यारेकमा भव्य कार्यक्रमसहित २४औँ जनमुक्ति सेना स्थापना दिवस मनाएका छन् । नयाँ राजनीतिक परिस्थितिमा नयाँ हस्तक्षेप, साझा अनुभव र स्मृतिको आदान प्रदान, तथा एकतालाई सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न गरिएको आयोजकहरूले बताए ।

कार्यक्रमकै अवसरमा पूर्व जनमुक्ति सेनाका कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’ को संयोजकत्वमा १७ सदस्यीय पूर्व जनमुक्ति सेना संयोजन समिति गठन गरिएको छ ।
समितिका सदस्यहरूमा दिपेन्द्र घर्ती ‘प्रभाकर’, सीता बिक ‘सम्झना’, तिलक पुन, रामजी थारु ‘मिलन’, इन्द्र गौतम ‘आदर्श’, गनबहादुर घर्ती ‘पर्वत’, प्रदिप ओली, विकास मल्ल ‘जलन’, शान्ति महत, आजात खड्का, उज्जल, मनबहादुर शाही, आशिष मल्ल, हुकुम खड्का, भरत बि.क र फाइटर समावेश छन् ।

यसैगरी ९ सदस्यीय सल्लाह समिति पनि गठन गरिएको छ। सल्लाहकारमा हर्कमान बुढा ‘आकर्षण’, जितमान पुन ‘मर्शल’, जयविर घर्ती ‘जेनि’, अनन्त के.सी., सबिन पोख्रेल, समिर के.सी., क. गुरुङ र पूर्ण बुढा ‘बिमर्श’ रहेका छन् ।

एक कमाण्डरका अनुसार समितिले औपचारिक निर्णय सार्वजनिक नगरेपनि पूर्व जनमुक्ति सेनालाई पुनर्सङ्गठित गर्ने, सहिद तथा वेपत्ता परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी, घाइते तथा अपाङ्ग योद्धाहरूका लागि उचित उपचार व्यवस्था गर्ने र जनयुद्ध–जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिने प्रारम्भिक निष्कर्ष बनेको छ।

त्यसैगरी सबै नागरिकका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितता, युवा वर्गका लागि स्वदेशमै रोजगारी सिर्जना, र २०४६ सालयताका उच्च पदस्थ कर्मचारी, राजनीतिक नेतृत्व तथा सुरक्षा प्रमुखहरूको सम्पत्ति छानबिन गरी दोषी ठहरिएकाको सम्पत्ति राष्ट्रियकरण गर्ने माग पनि उठाइएको छ ।

समितिले राष्ट्रिय उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण, वैदेशिक हस्तक्षेपको अन्त्य तथा आईएनजीओहरूको अनियन्त्रित चलखेल रोक्ने विषयमा संघर्ष अघि बढाउने तयारी गरेको छ ।

यसै क्रममा पूर्व जनमुक्ति सेना बसेका देशभरका व्यारेकहरूलाई ‘युद्ध सङ्ग्रहालय’मा रूपान्तरण गर्न सरकारलाई आग्रह गरिने र आवश्यक परे आन्दोलनमार्फत दबाब सिर्जना गर्ने निर्णय गरिएको आयोजकले जनाएका छन् ।