आमा

उनले
किताबका ठेलीहरू पढेकी छैनन्,
तर
किताबका सयौं ठेलीहरू पढ्ने
हामी सबैलाई
पढेकी छिन् ।

उनी
बन्दुक बोकेर कुनै युद्ध मोर्चामा त गईनन्,
तर
युद्ध मोर्चाभन्दा ठूला ठूला लडाइँहरू
उनी जितेकी छिन् –
साँचिकै, उनी एक असल योद्धा हुन् ।

उनले
आफूले कसैबाट प्रेम पाइन् या पाएनन्,
तर
प्रेमका जतिसुकै परिभाषाहरू
हामीले सुनेका र पढेका छौं,
त्यसको
उद्गम स्थल उनको कोख हो ।

उनलाई
गणितको ज्ञान त छैन,
तर
सुख र दुःखका सबै हिसाबहरू
आज पनि सजिलै हल गर्छिन् ।

उनले
कुनै वाद वा दर्शन त पढेकी छैनन्,
तर
उनको वाद र दर्शनमा
कहिँ कतै
दमन, शोषण, उत्पीडन र असमानता भेटिदैन ।

उनी…
प्रायः मौन हुन्छिन्,
उनीसँग बोल्न फुर्सद नै कहाँ छ र ?
सुर्योदय भन्दा पहिला
र सूर्यास्त पछि सम्म
श्रमकै मैदानमा हुन्छिन् ।

उनले
यति धेरै बोझहरू भारी बोकेर पनि,
के आफ्नो स्वतन्त्रता बारे
आफैसँग कहिल्यै प्रश्न गरिन् होला ?

उनि..
अर्थात् आमा ।