भारतीय सुरक्षाबलद्वारा माओवादी नेता हिडमाको हत्या, नेकपा (बहुमत) ले गर्यो निन्दा

काठमाडौं । भारतीय सुरक्षाबलले भाकपा (माओवादी) का नेता हिडमालाई ‘फेक इन्काउन्टर’ मा हत्या गरेको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तीव्र आपत्ति जनाएको छ ।

पार्टीका अनुसार हिडमाको हत्या दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले गरिएको योजनाबद्ध दमन हो । विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी विस्तारवाद र हिन्दूवादी फासीवादी शक्तिहरूको सहायतामा भारतीय राज्यसत्ता आफ्ना संकट लुकाउन क्रान्तिकारी नेताहरूलाई निशाना बनाइरहेको छ ।’

नेकपा (बहुमत) ले भारतीय सुरक्षाबलको अवैध, अनैतिक र मानवअधिकारविरोधी कदमको अन्तर्राष्ट्रिय छानबिनको माग गर्दै प्रगतिशील शक्ति, मानवअधिकार समूह र जागरूक नागरिकलाई ऐक्यबद्ध हुन आह्वान गरेको छ ।

केही दिनअघि हिडमा र उनका सहकर्मी ६ जना क्रान्तिकारी सुरक्षाबलसँगको मुटभेटमा मारिएका थिए । पार्टीका अनुसार यी दोहोरिया मुटभेट होइन, योजनाबद्ध हत्या हो । केही महिना अघि पनि महासचिव बसवराजु यस्तै घटनामा मारिएका थिए ।

पार्टीले हिडमाको बलिदानलाई दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनका लागि अमिट योगदान भन्दै उनको मृत्युले विद्रोहको आगो अझ फैलिने विश्वास व्यक्त गरेको छ ।