कम्युनिस्ट युवा संगठनको केन्द्रीय संयोजकमा झलक विश्वकर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालको केन्द्रीय संयोजकमा झलक विश्वकर्मा चयन भएका छन् ।

मंगलबार काठमाडौंमा बसेको नेकपा (बहुमत) को चौथो केन्द्रीय समितिको बैठकले विश्वकर्मालाई संयोजकको जिम्मेवारी तोकेको हो । बैठकले वर्तमान राजनीतिक परिस्थितिमा युवाको भूमिकालाई निर्णायक ठहर गर्दै संगठनलाई विस्तार र सुदृढीकरण गर्ने रणनीति अघि सारेको जनाइएको छ ।

पार्टीका अनुसार विश्वकर्माले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै युवालाई क्रान्तिकारी राजनीतिक चेतना, अनुशासन र जनमुखी अभियानसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको चयनपछि पार्टी तथा युवा संगठनभित्र उत्साह देखिएको छ । विभिन्न भेगबाट आएका युवा कमिटी र कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विश्वकर्मालाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले संगठनलाई थप सबल बनाउने विश्वास प्रकट गरेका छन् ।