अस्टिनको पशुपतिनाथ मन्दिर विवादमा: आर्थिक हिनामिनाको आरोप, नेतृत्वमाथि ट्रस्टिहरू आक्रोशित
काठमाडौं । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर अहिले आर्थिक अनियमितताको आरोपसहित विवादको केन्द्रमा छ । अस्टिनबासी नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाज (GANS) को नेतृत्वमा बनेको मन्दिरमा ट्रस्टिहरूले हिनामिना, मनपरी खर्च र पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।

मन्दिर निर्माणका लागि नेपालबाट ल्याइएका मूर्ति, गजुर, काठ, इँटा, आँखी झ्याल, नन्दी लगायतका सामग्री प्रयोग भए पनि खरिद प्रक्रिया बोलपत्रबिनै मनपरी निर्णय गरिएको ट्रस्टिहरूको भनाइ छ । उनीहरूले आरोप लगाएका छन् कि मन्दिर छिटो र राम्रो बनाउन लागेका इन्जिनियर र कन्स्ट्रक्सन कम्पनीहरूलाई अचानक हटाइएको, ट्रस्टिहरूको सुझाव अवहेलना गरिएको, र सबै निर्णय केही पदाधिकारीको इशारामा चलेको थियो ।
ट्रस्टिहरूले आफूले आर्थिक सहयोग जुटाएर बनाएको ‘हल’ समेत चन्दादातालाई आवश्यक पर्दा प्रयोग गर्न नदिएको र सुझाव दिन खोज्दा धम्की दिएको आरोप लगाएका छन् । करिब आठ लाख डलरको लागतमा मन्दिरको संरचना बनेको भनिए पनि, ट्रस्टिहरूका अनुसार संरचना हेर्दा खर्चको पारदर्शिता छैन र प्रश्न उठाउनु स्वाभाविक छ ।
मन्दिर निर्माणमा तत्कालीन नेतृत्वमा रहेका अध्यक्ष भोजराज भट्ट, महासचिव विदुर खतिवडा, संयोजक गेहेन्द्र केसी र उप–संयोजक देवराज न्यौपानेलाई मनोमानी र अपारदर्शी खर्चमा संलग्न भएको आरोपमा छन् । यस विषयमा महेश रेग्मी, सीपी पौडेल, उद्धव खनाल, बोधराज घिमिरे, कृष्ण जिसी, प्रदिप चौलागाई लगायत ३ दर्जनभन्दा बढी ट्रस्टिहरूले खुलेर बोलेका छन् ।
ग्रेटर अस्टिनमा बनेको मन्दिर नेपालकै शैलीमा पहिलो भव्य संरचना मानिन्छ र नेपाली समुदायका लागि एकताको प्रतीक हुनु पर्ने थियो। तर अहिलेको विवादले समुदायको भावनामा गहिरो चोट पुर्याएको ट्रस्टिहरूले बताएका छन् । विवाद चुलिँदै गएपछि अब समुदायभित्र स्वतन्त्र छानबिन समिति गठन गरी सबै हिसाब–किताब सार्वजनिक गर्नुपर्ने माग बलियो बनेको छ। ट्रस्टिहरू भन्छन्, ‘अनियमितता सम्बन्धी शंका नहटेसम्म मन्दिर विवाद टुंगिने छैन ।’




