जाजरकोटको नलगाडमा होमस्टे तालिम, स्थानीय उत्साहित

खलंगा– जाजरकोटको नलगाड नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। नलगाड नगरपालिकाका स्थानीय महिलाहरुलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

नेपाल एकिकृत महिला सेवा केन्द्र काठमाडौँ र नलगाड नगरपालिकाको समन्वयमा सातदिने तालिम आयोजना गरिएको नेपाल एकिकृत महिला सेवा केन्द्र काठमाडौँकी अध्यक्ष पार्वती थापाले जानकारी दिइन। स्थानीय महिलाहरुलाई होमस्टे सम्बन्धी सीप प्रदान गर्न सात दिने तालिम आयोजना गरेको थापाले बताइन् ।

होमस्टे सञ्चालन गरेर नलगाडको पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि पहिलोपल्ट होमस्टे तालिम आयोजना गरिएको हो। तालिममा प्रशिक्षकका रुपमा नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीकी अगुवा व्यवसायी उर्मिला गुरुङ र निर्मला थापा थिइन् ।

होमस्टे तालिममा सहभागी नगरपालिकाभित्रका होटल व्यवसायी र अन्य सहभागीलाई नगरपालिकाका उपमेयर देबका लामिछाने शोभाले प्रमाणपत्र प्रदान गरिन ।

नलगाडका स्थानीय अर्गानिक उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिमा रम्ने, स्थानीय शैलीको घरमा बास बस्ने वाताबरण बनाउनका लागि होमस्टे तालिम आयोजना गरिएको हो ।

तालिममा विभिन्न गाउँका ४२ जना प्रशिक्षार्थीहरु सहभागी थिए। तालिमबाट उनीहरू उत्साहित भएका छन्।