सुदूरपश्चिमकी बुहारी विद्या चौहान मिसेस नेपाल वर्ल्ड २०२५ फिनालेमा प्रवेश

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्ये एक, विद्या चौहान आज हजारौँ नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् । रामेछापको विकट गाउँ फूलासीमा जन्मेकी उनी नेपालको सुदूरपश्चिमकी बुहारी हुन् ।

विद्या चौहान – प्रतियोगी, मिसेस नेपाल वर्ल्ड २०२५

शिक्षाको हिसाबले नर्स भए पनि, पारिवारिक व्यवसाय भवानि ग्रुपको सञ्चालकको रूपमा उनले ३० वर्षको उमेरमै सफलता हाँसिल गरेकी छिन् । विद्या चौहानले आफ्नो व्यवसायमार्फत ३००० भन्दा बढी युवाहरूलाई रोजगार सृजना गरिरहेकी छिन् ।

परिवार, व्यवसाय र सामाजिक कार्यबीच सन्तुलन कायम गर्दै उनले प्रमाणित गरेकी छन् कि महिलाको शक्ति केवल परिवारसम्म सीमित छैन, महिलाले चाहे जुनसुकै क्षेत्रमा पनि सफलता हाँसिल गर्न सक्छन् ।

मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले यही कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुन विद्या चौहानसँग श्रीमान ई. भवानी ओझा, परिवार र आफन्तहरूको ठुलो हौसला र साथ रहेको छ।

हाल उनी फिनालेको तयारीमा जुटिरहेकी छिन् र अनुभव सँगसँगै नयाँ सिकाइ प्राप्त गरिरहेकी छिन्। ‘हार जितलाई सामान्य प्रक्रिया मान्ने गरेको छु, तर कार्यक्रममा भाग लिएर फरक खालको अनुभव र नयाँ कुरा सिक्ने अवसर पाएको छु,’ उनले बताइन् ।

विद्या चौहानको यो यात्रा नेपाली महिलाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ ।