अद्भुत तरिका ! मलद्वारमै लागुऔषध ‘फ्रिजिङ’ गरेर ल्याउँदै दुई जना पक्राउ
उदयपुर । लागुऔषध तस्करीका नयाँ–नयाँ तरिका देखिँदै जाँदा उदयपुरमा घटेको यो घटना साँच्चै चकित पार्ने खालको बनेको छ। प्रहरीले दुई युवालाई मलद्वारमै ‘फ्रिजिङ’ गरेर प्रतिबन्धित लागुऔषध लुकाइ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ का २३ वर्षीय बिकि भन्ने विवेक राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैतालिस चोक नजिक शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोक्दै चेकजाँच गरेको थियो ।
पहिलो नजरमै शंका लागेपछि प्रहरीले दुवै जनालाई नगर अस्पताल चौदण्डीगढीमा एक्स–रे गराउन लग्यो। एक्स–रे रिपोर्ट आएपछि डाक्टरदेखि प्रहरीसम्म अचम्ममा परे — उनीहरूले मलद्वारभित्र नै ‘फ्रिजिङ’ गरेर राखिएका लागुऔषधका एम्पुलहरू लुकाएका रहेछन् ।
प्रहरीका अनुसार तिमल्सिनाको शरीरबाट १५ एम्पुल र राईको शरीरबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ । अस्पतालका चिकित्सकहरूले जोखिमपूर्ण अवस्थाबाट ती एम्पुलहरू सुरक्षित रूपमा निकालिएको जानकारी दिएका छन् ।
हाल दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरूले भने यस्तो घटना पहिलो पटक देखिएको भन्दै लागुऔषध माफियाको नयाँ जालो खुलेको संकेत गरेका छन् । प्रहरीले तस्करीका पछाडिका नशा–सञ्जाल पत्ता लगाउने तयारी गरेको बताएको छ ।

