जेन–जी आन्दोलनमा ७६ मृत्यु : सेनाले किन भन्यो ‘४१ जनाको कारण अस्पष्ट’?
काठमाडौं । जेन-जी आन्दोलनका घटनाबारे नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कले नयाँ प्रश्नहरू जन्माएका छन्। सेनाले ७६ जनाको मृत्यु पुष्टि गरेको छ । तर तीमध्ये ४१ जनाको मृत्युको कारणलाई ‘अन्य’ भन्दै अस्पष्ट राखिएको छ ।

तस्बिर – उपरथी अनुपजंग थापा ।
सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत चैत २३ र २४ गतेका घटनाको विस्तृत विवरण (शब्दचित्र) सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार, आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीबन्दीको ज्यान गएको उल्लेख छ। बाँकी ४१ जनाको मृत्यु ‘अन्य’ श्रेणीमा राखिएको छ, जसले ‘यी कोबाट मारिए ?’ भन्ने प्रश्न खडा गरेको छ ।
सेनाको विवरणअनुसार, २२ प्रदर्शनकारी प्रहरीको गोलीबाट, १० जना जेल तोड्ने क्रममा र ३ जना प्रहरी आन्दोलनकारीबाट मारिएका थिए । तर बाँकी ४१ जनाको मृत्युबारे सेनाले ‘लुटपाट, आगजनी वा आफ्नै लगाएको आगो सल्किएर हुनसक्छ’ भन्ने अनुमान मात्र गरेको छ ।
यही बिन्दुमा प्रश्न उठेको छ — यदि ती ४१ जनाको मृत्यु राज्यका निकायबाट नभएको हो भने, उनीहरूको जिम्मा कसले लिन्छ ? र, यदि राज्यको कारबाहीकै परिणामस्वरूप भएको हो भने, त्यसको जवाफदार को ?
भाटभटेनी लगायतका स्थानमा भएको आगजनी, भीड नियन्त्रण र भिडन्तका क्रममा जलेका वा घाइते भएर मरेका नागरिकहरूलाई सेनाले ‘अन्य’को सूचीमा समेटेको बताइएको छ ।
यता, सेनाले आन्दोलनका क्रममा ९७८ वटा हतियार लुटिएको र तीमध्ये ५८६ वटा फिर्ता भएको विवरण पनि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने, ‘हामीले प्रमाणका आधारमा उपलब्ध तथ्याङ्क सार्वजनिक गरेका हौं, बाँकी घटनाहरूमा अझ अनुसन्धान आवश्यक छ ।’
तर, ७६ जनाको मृत्युमा ४१ जनाको कारण अस्पष्ट रहनु स्वयं राज्यको पारदर्शितामाथि प्रश्न उठाउने विषय बनेको छ ।
घटनाको ‘शब्दचित्र’ सार्वजनिक भए पनि, सत्यको चित्र अझै अधुरो छ ।
तर, आन्दोलनका क्रममा ७६ जनाको मृत्युमध्ये ४१ जनाको कारण अझै अस्पष्ट रहनु राज्यको पारदर्शितामाथि प्रश्न खडा भएको टिप्पणी गरिएको छ ।