पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय दिन माग गरेको छ ।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनलाई दमन गर्न सुरक्षा बललाई ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको आरोप हसिनामाथि लगाइएको हो।

बीबीसीका अनुसार, अदालतमा पेश गरिएको एउटा अडियो क्लिपमा उनी सुरक्षा अधिकारीहरूलाई प्रदर्शनकारीमाथि कडा कारबाही गर्न निर्देशन दिइरहेको सुन्न सकिन्छ । तर हसिनाले यी सबै आरोप अस्वीकार गरेकी छिन् ।

विद्यार्थी आन्दोलनको क्रममा देशभर हिंसा फैलिएको थियो, जसमा सुरक्षाबलको कारबाहीसहित करिब १,४०० मानिसको मृत्यु भएको बताइन्छ। यो घटना सन् १९७१ को स्वतन्त्रता युद्धपछिको बंगलादेशको सबैभन्दा भीषण हिंसाको रूपमा लिइएको छ।

हसिना अहिले भारतमा शरण लिएर बसिरहेको बताइन्छ ।

बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भनेका छन्, “हसिनाले १,४०० जनाको मृत्युको जिम्मा लिनुपर्छ, त्यसैले उनलाई मृत्युदण्ड दिनुपर्छ।”
तर उनले थपे, “मानवीय रूपमा १,४०० पटक मृत्युदण्ड सम्भव नभएकाले हामी कम्तीमा एकपटक मृत्युदण्डको सजायको माग गर्छौं ।”