टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं, नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो।

सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो। ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो। नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ। नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ।

दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए। नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो। बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए।

सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए। अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे।

अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे। दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरे। आर्यन विष्टले २४ बलमा११ रन बनाए।

त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे। मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए। विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए।

ओमानलाई सस्तैमा समेट्न नेपाली बलर गुलशन झाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए। सन्दीपका नाममा १ विकेट रह्यो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो। प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो।

कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो। यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए। आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए।

नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे। नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे। यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा टी––२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए।

आदिल आलम अन्सारीले १५ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए। भूर्तेलले ५१ बलमा ६९ रन बनाए। १८ औं ओभरमा एलबीडब्लू आउट भएका भूर्तेलले ७ चौका र १ छक्का प्रहार गरे।

१९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए। इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दनले ४ बलमा ९ रन बनाए भने सोमपाल १ रनमा अविजित रहे।

ओमानका बाँयाहाते स्पिनर नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुफियानले ४ ओभरमा २९ र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए।