लामाे दूरीका सवारीसाधन ३ दिनका लागि बन्द
काठमाडौं । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।
‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ ।
त्रिभुवन विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
शनिबार बिहानैदेखि जारी अविरल वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए।
उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ।’
अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्। काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान भागले जनाएको छ। विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना छ भने राति झ धेरै वर्षा हुने अनुमान छ।