समाकोट खोलाले बगाउँदा दिदी बहिनीको मृत्यु

खलंगा, जाजरकोट पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको मृत्यु भएको छ। कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो।

स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।