विष्णु पौडेल भन्दै कुटिएका व्यक्ति ग्रिनसिटीका अध्यक्ष टण्डन
काठमाडौँ । जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्दै आएका ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनमाथि आन्दोलनकारीकै आक्रमण भएको खुलेको छ।
सामाजिक सञ्जालमा ‘उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण’ भन्दै भाइरल भएको भिडियोमा वास्तवमा कुटपिटमा परेका व्यक्ति मन्त्री पौडेल नभई अध्यक्ष टण्डन रहेको पुष्टि भएको हो।
भदौ २३ गते गंगबुमा गोली लागेका जेनजी कार्यकर्ता लक्ष्मण कँडेललाई मनमोहन अस्पताल पुर्याएर फर्कने क्रममा टण्डनमाथि आक्रमण भएको जनाइएको छ। उनका अनुसार भीडले उनलाई अर्थमन्त्री पौडेल सम्झी कुटपिट मात्र गरेन, एम्बुलेन्ससमेत तोडफोड गर्यो।
‘मैले घाइतेको निःशुल्क उपचार र उद्धार गरिरहेको थिएँ, तर अर्को अस्पताल पुर्याएर फर्किँदै गर्दा ममाथि आक्रमण भयो,’ टण्डनले स्मरण गरे। उनले थपे, ‘नेताको अनुहारसमेत नचिन्ने आन्दोलनकारी थिए भन्ने कसरी विश्वास गर्ने? कसैले ‘नेता आयो’ भन्दै कुटे, तर पछि चिनेका जेनजी भाइबहिनी र अरु मानिसहरूले बचाए।’
उनका अनुसार घटना नियोजित नभए पनि यसले उनलाई गम्भीर चोट पुर्याएको छ। अहिलेसम्म १७ जना जेनजी घाइतेलाई निःशुल्क उपचार गराइसकेका उनी केही दिनको आरामपछि फेरि काममा फर्किसकेका छन्।
घाइतेको सहयोगमा सक्रिय रहँदा आफ्नै स्वास्थ्यमा खतरा भोग्नुपरेको यस घटनाले आन्दोलनका क्रममा निर्दोषहरू माथि हुन सक्ने हिंसाको जोखिमलाई समेत उजागर गरेको छ।